Sagun Khabar
बैतडीको मेलौलीमा अस्पताल विवाद : नगरपालिकामा तालाबन्दी कायमै 

बैतडी –बैतडीको मेलौली नगरपालिकामा गरिएको तालाबन्दी कायमै रहेको छ । वडा नं ७ का स्थानीयहरुले गरेको तालाबन्दी बिहीबार खोलिएको भएपनि फेरी उनीहरुले तालाबन्दी गरेका छन् । 

१५ शैय्याको अस्पताल निर्माणका बिषयमा वडा नं १ र ७ का स्थानीयबीच विवाद रहँदै आएको छ । वडा नम्बर ७ का बासिन्दाहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै ठाउँमा आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गरिरहेका छन् । 

यता वडा नं १ का स्थानीयहरुले वडा नम्बर १ को बिट्ठेनी भन्ने ठाउँमा आधारभूत अस्पताल हुनुपर्ने माग गर्दै आएका छन् । २०७० सालदेखि मेलौलीमा आधारभूत अस्पताल निर्माणको कुरा चलेको भएपनि दुवै पक्षको विवादका कारण अस्पातल निर्माणको काम अघि बढ्न सकेको छैन् । नगरपालिकामा फेरी तालाबन्दी गरिएको कार्यवाहक नगर प्रमुख कृष्णदत्त भट्टले बताए । नगर प्रमुख र उपप्रमुख बाहिर रहेका बेला नगरपालिकामा तालाबन्दी गरिएको हो । 

वडा नं ७ का बासिन्दाहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा अस्पताल निर्माणको माग गर्दै मंगलबार नगरपालिकामा तालाबन्दी गरेका थिए । नगरपालिकामा लगाएको ताला बिहीबार खोलेपछि दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते समेत भएका छन् । उनीहरु मध्ये केहीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइते हुने मध्ये अधिकांश वडा नं ७ का बासिन्दाहरु रहेका छन् । वडा नं १ बासिन्दाहरुले आफूहरुमाथि ढुंगामुढा प्रहार गरेको वडा नं ७ का बासिन्दाहरुको आरोप रहेको छ । 

यता वडा नम्बर १ तर्फका पनि १० जना घाइते भएका बताइएको छ । मेलौलीमा दुई पक्षबीच झडप भएपछि प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ । अप्रिय घटना हुन नदिनका लागि थप प्रहरी परिचालन गरिएको हो । 

अस्पताल निर्माणको मुद्दा थप पेचिलो बन्दै गएपछि मेलौली दुईदिनदेखि  अशान्त रहेको छ । दुवै पक्षले आ–आफ्नो अडान कायम राख्दा झडपको स्थिती सिर्जना भएको प्रहरीले जनाएको छ । 

यता नगर प्रमुख भीमबहादुर चन्दले अस्पताल निर्माणको बिषयमा वार्ता र सहमतिबाटै समाधान खोज्नका लागि आग्रह गरेका छन् । एक विज्ञप्ती जारी गर्दै आफू र नगर उपप्रमुख बाहिर रहेका बेला मेलौलीमा भएको घटना प्रति दुःख व्यक्त गरेका छन् । अस्पताल निर्माणको बिषयमा संयमता अपनाएर सम्वादबाटै सहमति खोज्नुपर्नेमा उनले जोड दिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update