Sagun Khabar
बैतडीमा धुलाम्य सडकले नागरिकलाई सास्ती 

बैतडी –बैतडीको दशरथचन्द राजमार्ग धुलाम्य हुँदा यात्रुहरुलाई निकै सास्ती हुने गरेको छ । दरशथचन्द राजमार्गको अनारखोलीदेखि सदरमुकामसम्म मोड सुधार गर्ने कार्यक्रम चलिरहेको छ । विगतदेखि नै मोड सुधारको योजना सञ्चालनमा रहेको छ । मोड सुधारको योजना अव्यवस्थित रुपमा सञ्चालन हुँदा यात्रुहरुलाई निकै समस्या हुने गरेको छ । 

पिच सडक धुलैधुलोले भरिएको स्थानीय यशोदा पन्तले बताइन् । उनले भनिन् ‘सडकमा हिड्न मुस्किल छ । बिहान लगाएको लुगा साँझ धुलैधुलोले भरिएको छ । सडकको ठाउँठाउँमा धुलो छ । धुलो कम गर्ने कुनै उपाय अपनाइएको छैन् ।’

सडकभरी धुलो हुँदा गाडी चलाउन निकै मुस्किल हुने गरेको चालकहरुले बताएका छन् । सडकभरी धुलैधुलो हुँदा विभिन्न रोगको समेत जोखिम बढ्दै गएको चालक सन्दीप भट्टले बताए । उनले भने ‘टीबी होला जस्तो भइसकेको छ । धुलोले गर्दा श्वास फेर्नै मुस्किल भएको छ ।’

मोड सुधारका लागि निश्चित मापदण्ड नअपनाउँदा यात्रु र स्थानीय नागरिकहरुलाई सास्ती भएको छ । पिच सडकमै ग्रामीण सडकको जस्तै धुलो रहेको स्थानीय कृष्ण महराले बताए । उनले भने ‘मोड काटेको ठाउँमा धुलैधुलो छ । धुलो कम गर्न पानीको व्यवस्थापन गरेमा केही राहत हुन्थ्यो । तर ठेकेदारहरुले मनोमानी गरिरहेका छन् ।’

धुलाम्य सडकले निकै सास्ती हुने गरेको सडक नजिकका बासिन्दाहरुले बताएका छन् । सडकको धुलो घर सम्मै पुग्ने गरेको उनीहरुको गुनासो रही आएको छ । सडक छेउमा कार्यालय कर्मचारीहरु पनि धुलाम्य सडकले हैरान भएका छन् । बिहान लगाएको लुगा दोश्रो दिन लगाउन नमिल्ने गरेर फोहर हुने गरेको एकजना स्वास्थ्यकर्मीले बताए । उनले भने ‘सडक छेउमै मेरो कार्यालय रहेको छ । अफिस पुग्दा सम्म शरीर भरी धुलैधुलो हुन्छ । धुलोका कारण विभिन्न खालका स्वास्थ्य समस्या सिर्जना हुने हुन्छ ।’

दुई तीन बर्ष यता मोड सुधारका लागि ठेक्का मार्फत काम गराइरहेको सडक डिभिजन कार्यालयले धुलो कम गर्ने उपाय अपनाएको छैन् । सम्बन्धित निर्माण व्यवसायीसंग यो बिषयमा कुनै कुराकानी नगर्दा सधैंभरी सडक धुलाम्य हुने गरेको छ । सडकमा मोड सुधारको लागत स्टमेट तयार गर्दा धुलो कसरी कम गर्ने भन्ने बिषयमा कार्यालयले सोच्ने गरेको छ । धुलाम्य सडकमा पानीको व्यवस्था गरेमा केही राहत हुने भएपनि कार्यालयले यो बिषयमा पनि ध्यान दिएको छैन् । 

मोड सुधारका लागि छुट्याएको बजेटमा पानीको व्यवस्थापनका लागि बजेट नभएको सडक डिभिजन कार्यालय पाटन बैतडीका सव–इन्जिनियर मुकेन्द्रविक्रम मल्लले बताए । उनले भने ‘सडकको धुलो कम गर्नका लागि बजेटमा व्यवस्था हुँदैन् । त्यसैले पानीको व्यवस्थापन गर्न सकेका छैनौं ।’
 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update