Sagun Khabar
मेलौली अस्पताल विवाद : तीन दिनदेखि यातायात बन्द,रातभर जाग्राम बसेर आन्दोलन  

बैतडी –मेलौलीमा आधारभूत अस्पताल निर्माणका बिषयमा दुई पक्षकाबीच देखिएको विवादका कारण तीनदिन देखि यातायात ठप्प भएको छ । वडा नं ७ का स्थानीयहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै ठाउँमा अस्पताल बन्नुपर्ने माग राख्दै आएका छन् । उनीहरुले सो माग पूरा हुनुपर्ने भन्दै मंगलबार मेलौली नगरपालिकामा तालाबन्दी गरेका थिए । अहिले पनि तालाबन्दी जारी रहेको छ । 

यस्तै वडा नं १ का स्थानीयहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने माग राखेका छन् । उनीहरुले सो माग पूरा हुनुपर्ने भन्दै सडक बन्द गरेका छन् । सडक बन्द हुँदा पाटन–पञ्चेश्वरको मेलौलीमा सवारी साधन रोकिएका छन् । 

दुवै पक्षले रातभर सडकमै बसेर प्रदर्शन गरेका छन् । आ –आफ्ना ठाउँमा अस्पताल निर्माण हुनुपर्ने भन्दै उनीहरुले रातिको समयमा समेत सडकमै बसेर आन्दोलन गरेका हुन् । 

बिहीबार दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते समेत भएका थिए । अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

दुवै पक्षको अडानका कारण यो बिषयमा छलफल समेत हुन पाएको छैन् । अस्पताल निर्माणका बिषयमा विवाद भएपछि गएको तीनदेखि मलौली अशान्त रहेको छ । 

मेलौलीमा १५ शैय्याको अस्पताल निर्माणका बिषयमा २०७० सालदेखि विवाद रहँदै आएको छ । दुवै पक्षले आ–आफ्नो ठाउँमा अस्पताल निर्माण हुनुपर्ने अडान राखेपछि अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन् । 

यता वडा नं १ का स्थानीयहरुले भने बिट्ठेनी अस्पताल निर्माणका लागि डीपीआर समेत भइसकेको दाबी गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update