बैतडी –बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माणका बिषयमा दुई पक्षबीच भएको विवादका कारण रोकिएको यातायात सेवा सुचारु भएको छ । आन्दोलनरत दुवै पक्षसंग समन्वय गरेर यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
आन्दोलनरत वडा नं १ र वडा नं ७ का स्थानीयबीच अस्पताल निर्माणका बिषयमा विवाद हुँदा गएको तीनदिन मेलौली अशान्त रहेको छ । बिहीबार दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते भएका थिए ।
वडा नं ७ का स्थानीयहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै ठाउँमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गरेका छन् भने वडा नं १ का स्थानीयहरुले वडा नं १ को बिट्ठेनीमा आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गरेका छन् । दुवै पक्षले आ –आफ्नो क्षेत्रमा अस्पताल निर्माणको माग गरेपछि अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन् ।
२०७० सालदेखि मेलौलीमा अस्पताल निर्माणका बिषयमा विवाद हुँदै आएको छ । पछिल्लो समयमा वडा नं १ का अस्पातल निर्माणका लागि डीपीआर तयार भइसकेको भन्ने कुरा बाहिर आएपछि वडा नं ७ का बासिन्दाहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
दुवै पक्षले आ आफ्नो अडान नछोडेका कारण अस्पातल निर्माणका बिषयमा सहमति हुन सकेको छैन् । दुवै पक्षको अडानका कारण मेलौलीमा अस्पताल निर्माणको विवाद पेचिलो बन्दै गएको छ । नगर प्रमुख र उपप्रमुख समेत जिल्ला बाहिर रहेका बेला मेलौलीमा आन्दोलन चर्किरहेको छ । दुवै पक्षबीच फेरी झडप हुन सक्ने भएकाले प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा त्यहाँ प्रहरी परिचालन गरिएको छ ।




