बैतडी– बैतडीमा संघ र प्रदेशको बजेटबाट कार्यान्वयन भएका कतिपय योजना दिगो नभएका गुनासो बढेको छ। जिल्ला भित्र संघ र प्रदेशको बजेटबाट व्यक्ति केन्द्रित भएर आएका योजना दिगो नभएका गुनासो बढेको हो ।
नेताहरुको चाकरी गरेर ल्याएका योजना दिगो र प्रभावकारी नहुने गरेका स्थानीयहरुको आरोप छ । नेता कार्यकर्ता पाल्न व्यक्ति विशेष तरिकाले पोसिएका योजना प्रभावकारी नभएका नागरिहरुको गुनासो रहेको हो । नेताहरुको पछि लागेर योजना मागेर आउने र ति योजनामा सबैभन्दा बढि भ्रष्टाचार हुने गरेको स्थानीयहरुको भनाई छ ।
आफुहरुले पहल गरेर ल्याएका भन्दै गाउँमा योजनाहरु व्यक्ति विशेष रुपले सम्पन्न हुने गरेका र सो योजनामा निगरानी नहुँदा दिगो हुन नसकेका स्थानीय प्रकाश भट्टले बताए । स्थानीय सरकारलाई छलेर चोरबाटोबाट कार्यान्वयन हुने योजनाहरुमा कडा निगरानी राख्न अहिले यहाँँका जनप्रतिनिधिहरु पनि जिल्ला समन्वय समितिलाई आग्रह गर्न थालेका छन् ।
अनुगमनका लागि सबै स्थानीयतहमा पुगिरहेको समन्वयको टोलिलाई यस्तो आग्रह गरिन थालिएको हो । संघ प्रदेशका कतिपय योजना स्थानीय सरकारलाई छलेर निर्माण भइरहेका जनप्रतिधिहरुको भनाई छ । विकासका नाममा व्यक्ति केन्द्रित बजेट पोसेर काम दिगो र प्रभावकारी नभएको गुनासो बढ्दो छ ।
आफुहरुले संघ र प्रदेश धाएर योजना हाल्न लगाएको भन्दै गाउँसमाजमा सम्पन्न भएका, सञ्चालित र कार्यान्वयनको चरणमा रहेका योजनाहरुको कडाइका साथ अनुगमन गर्न पनि जिल्ला समन्वय समितिलाई आग्रह गरिएको हो । जिल्लामा धेरै जसो योजना पाल्न र पालिनमा सिमित भएकाले प्रभावकारी अनुगमनको खाँचो रहेको स्थानीय रोशन साउँदले बताए ।
यता जिल्ला समन्वय समितिले योजनाहरुको कडा अनुगमन गरिने बताएको छ । अहिले १० ओटै पालिकामा अनुगमन गरेर योजनाको लिष्ट तयार पार्ने काम भइरहेका भन्दै जिल्ला समन्वय समिति अध्यक्ष खगेन्द्र सिंह धामीले कडा निगरानी गरिने बताए । योजना बारे धेरै गुनासा आएकाले समन्वय समितिले कडारुपले अनुगमन गर्ने उनले बताए ।




