बैतडी –बैतडीको मेलौली नगरपालिकामा गएको मंगलबारदेखि गरिएको तालाबन्दी कायमै रहेको छ । १५ शैय्याको आधारभूत अस्पताल केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा हुनुपर्ने माग राख्दै गरिएको तालाबन्दी कायमै रहेको हो ।
वडा नं ७ का स्थानीयहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् । यता वडा नं १ का स्थानीयहरुले पनि वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् । दुवै पक्षबीच गएको बिहीबार झडप हुँदा ३५ जना घाइते समेत भएका थिए ।
१५ शैय्याको अस्पतालमा आ–आफ्नै ठाउँमा बनाउनुपर्ने माग राख्दै आएका स्थानीयहरुबीच झडप भएपछि सामाजिक सदभाव समेत खल्बलिने देखिएको छ । दुवै पक्षले अस्पताल निर्माणलाई अस्तित्वका रुपमा लिएका छन् । दुवै पक्षबीच सहमति गराउने प्रयास भएको भएपनि उनीहरु एक ठाउँमा बस्नै नमाने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । उनले भने ‘अस्पताल निर्माणको बिषयमा दुवै पक्षले आफ्नो अस्तित्वका रुपमा लिएका छन् । दुवै पक्ष एकठाउँमा बसेर छलफल गर्ने वातावरण बनाउने खोजेपनि त्यो सम्भव हुन सकेको छैन् ।’
वडा नं १ र ७ का स्थानीयबीच पहिलादेखि पनि विभिन्न कुरामा विवाद रहेको बताइन्छ । अस्पताल निर्माणको कुराले पुरानो वैमनस्यतालाई खोतलेको कतिपयको भनाइ रहेको छ । अहिले पनि दुवै पक्षले अस्पताल आ–आफ्नै ठाउँमा बन्नुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।
दुवै पक्षबीच फेरी झडप हुन सक्ने भएकाले प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा त्यहाँ प्रहरी परिचालन भएको छ । स्थिती समान्य भइनसकेकाले प्रहरी निरीक्षक खत्रीको कमाण्डमा प्रहरी परिचालन भइरहेको हो ।
मेलौलीमा अस्पताल निर्माणको विवादमा दुई वडाका बासिन्दाबीच तनाव भइरहेका बेला अन्य ठाउँका नागरिकले भने आपसी सम्वादबाट समस्याको समाधान गर्न आग्रह गरेका छन् । अस्पताल निर्माणको विवादले सामाजिक सदभाव समेत खल्बलिन सक्ने भएकाले यो तर्फ सबैले सचेत हुनुपर्ने मेलौली नगरपालिका वडा नं २ का स्थानीय विवेकानन्द पाण्डेयले बताए । उनले भने ‘अस्पताल निर्माणको कुरामा दुई वडाका नागरिक लड्नु हुन्न । आपसी सहमति र सम्वादबाट यो बिषय टुंगिनुपर्दछ ।’




