Sagun Khabar
बैतडीमा सडक मर्मतमा चरम लापरवाही, महिना दिनमै उप्किन्छ ‘पिच’

बैतडी –बैतडीमा सडक मर्मतमा बर्षेनी ३ करोडको हाराहारीमा खर्च हुने भएपनि गुणस्तरीय काम नहुँदा नागरिकलाई हैरानी हुने गरेको छ । ठाउँ–ठाउँमा खाल्टाखुल्टीमा पिच गर्न सडक डिभिजन कार्यालयले प्रत्येक बर्ष खर्च गर्दै आएको छ । निर्माण व्यवसायीहरु मार्फत गरिने सो कार्य गुणस्तरहीन हुने गरेको नागरिकले आरोप लगाउने गरेका छन् । 

दशरथचन्द राजमार्गको अनारखोलीदेखि सदरमुकामसम्म ठाउँठाउँमा पट्के कालोपत्रे गर्ने गरिएको भएपनि त्यो कालोपत्रे महिना दिन समेत टिक्न नसकेको नागरिकको गुनासो रही आएको छ । 

सडक कालोपत्रे गरेको एक महिनामै उप्किने गरेको स्थानीय दिलबहादुर बिष्टले बताए । उनले भने ‘सडकका ठाउँठाउँमा टाला हालेको देखिन्छ । त्यो टाला एक महिनामै उप्किएर फेरी सडक धुलाम्य हुन्छ ।’

कालोपत्रेका लागि हिउँदको समय उपयुक्त नभएपनि निर्माण व्यवसायीहरुले आफूले मन परेका बेला कालोपत्रे गर्ने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । हिउँदको समयमा कमसल सामग्रीको प्रयोग गरेर गरिने कालोपत्रे महिना दिन समेत टिक्न नसक्ने अर्का स्थानीय गगनसिंह भाटले बताए । उनले भने ‘यसमा सडक डिभिजन कार्यालयको समेत कमजोरी रहेको छ । दिगो हिसाबले काम हुँदैन् । सडक भताभुंग भएको छ । सडक डिभिजन कार्यालयले राम्रो हिसाबले हेर्नुपर्छ ।’

सडक मर्मतको काम गर्दा दिगो हिसाबले नगर्ने भएकाले ठाउँठाउँमा खाल्टाखुल्टी रहेका स्थानीय नैनसिंह बिष्टले बताए । उनले भने ‘काम राम्रो हुँदैन् । झारो टार्ने काम हुन्छ । पिच गरेको एक महिनामै उप्किन्छ ।’

प्रत्येक बर्ष खाल्टाखुल्टी मर्मतका लागि सडक डिभिजन कार्यालयमा बजेट आउने गर्दछ । तर काम भने निकै गुणस्तरहीन हुने गरेको पाइएको छ । तर यो कुरामा सडक डिभिजन कार्यालय बैतडीका सव इन्जिनियर मुकेन्द्रविक्रम मल्ल भने सहमत छैनन् । उनले भने ‘पिच गरेको कम्तीमा १३ महिना टिक्नुपर्छ । यदि टुटफुट भएमा कम्पनीले दोश्रो पटक निर्माण गर्नुपर्छ ।’
 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update