Sagun Khabar
बैतडीमा हत्याका घटना बढ्दै, नागरिक त्रासमा 

बैतडी –पछिल्लो समयमा बैतडीमा हत्या हिंसाका घटना बढ्दै गएका छन् । एक महिनाको अवधिमा जिल्लामा दुईओटा हत्याका घटना भइसकेका छन् । गएको मंसिर १३ गते पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीका २१ बर्षीया माया लुहारको हत्या भएको घटना सेलाउन नपाउँदै यही पौष १ गते सुर्नया गाउँपालिका २ ग्वानी घर भइ कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्या भयो । 

मंसिर १३ गते नै पञ्चेश्वर ४ फ्याउलीकी १५ बर्षीया नेहाको घाँटी रेटेर हत्या गर्ने प्रयास समेत भएको थियो । माया लुहार हत्याका अभियुक्त भरतराम कोलीले नेहाको समेत घाँटी रेटेका थिए । 

यस्तै शिक्षक बिष्टको हत्या अभियोगमा छात्राबासमै बसेर कृष्ण माविमा अध्यनन गरिरहेकी युवती बिमला बोहरा र उनका श्रीमान प्रजा बोहरा पक्राउ परिसकेका छन् । 

हत्या हिंसा जस्ता जघन्य अपराधले नागरिकमा त्रास फैलिएको पाटनका स्थानीय जानकी भट्टाराईले बताइन् । उनले भनिन् ‘विद्यालय जस्तो ठाउँमा शिक्षकको हत्या हुन्छ । गाउँकै मान्छेले युवतीको हत्या गर्छन् । अब यहाँ कसैको विश्वास रहेन् ।’

ज्यान मार्ने जस्ता जघन्य अपराधले मानिसमा त्रास फैलिएको पञ्चेश्वर ४ का प्रकाशराम लुहारले बताए । उनले भने ‘गाउँका मानिसमा अझै पनि त्रास कायमै छ । यस्ता खालका जघन्य अपराधले मानिसलाई झस्काएको छ ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्याहिंसा जघन्य अपराधको ग्राफ बढ्दै गइरहेको छ । विभिन्न कारणले जघन्य अपराधका घटना भइरहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७७÷७८ मा कर्तव्य ज्यान सम्बन्धि ६ ओटा र ज्यान मार्ने उद्योग सम्बन्धि ४ ओटा मुद्दा दर्ता भएका थिए । गत आर्थिक बर्ष २०७८÷७९ मा कर्तव्य ज्यान सम्बन्धि ८ र ज्यान मार्ने उद्योग सम्बन्धि २ ओटा मुद्दा दर्ता भएका थिए । 

चालु आर्थिक बर्षको अहिलेसम्म तीनओटा कर्तव्य ज्यान सम्बन्धिका ३ ओटा मुद्दा दर्ता भइसकेका प्रहरी निरीक्षक खत्रीले बताए । प्रहरीले यस्ता अपराधको अनुसन्धान गरेर दोषीलाई कारवाहीका लागि अदालत पठाउने गरेको छ । 
सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, मादक पदार्थ सेवन, लागु औषध, रिसीइबी लगायतका कारणले यस्ता घटनाहरु हुने गरेको प्रहरी निरीक्षक खत्रीले बताए । 
 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update