Sagun Khabar
मन्त्री दामोदर भण्डारीले लिए पद तथा गोपनीयताको शपथ 

बैतडी –बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारीले मन्त्री पदको शपथ लिएका छन् । शितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा मन्त्री भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारीले मन्त्री पदको शपथ ग्रहण गरेपनि मन्त्रालयको भने टुंगो लागेको छैन् । कार्यभार पछि तोकिने गरेर उनले मन्त्री पदको शपथ ग्रहण गरेका हुन् ।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा चयन भएका थिए । तेश्रो पटक जित हात पारेका मन्त्री भण्डारीले यसअघि अर्थराज्यमन्त्रीको कार्यभार सम्हाली सकेका छन् । 

भण्डारी मन्त्री पदमा नियुक्त भएपछि उनको गृह जिल्ला बैतडीमा खुसीयाली छाएको छ । बैतडीले नयाँ मन्त्रीमण्डलमा ‘फुल’मन्त्री पाएकाले जिल्लाबासी खुसी भएका हुन् । 

नयाँ मन्त्रीमण्डलमा उनी सुदूरपश्चिमबाट मन्त्री बन्ने एक्ला सांसद पनि हुन् । मन्त्री भण्डारीसंगै एमालेबाट विष्णु पौडेल, राजेन्द्र राई र ज्वालकुमारी शाहले पनि मन्त्री पदको शपथ ग्रहण गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update