बैतडी –नयाँ सरकार गठन भएसंगै बैतडीका सांसद दामोदर भण्डारी पनि मन्त्रीमण्डलमा अटाएका छन् । अर्थराज्य मन्त्रीको भूमिका निर्वाह गरिसकेका भण्डारी प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा ‘फुल’मन्त्री भएका छन् । मन्त्रालयको टुंगो लाग्न बाँकी रहेको भएपनि उनले सोमबार मन्त्री पदको शपथ ग्रहण गरिसकेका छन् ।
२०३० साल कार्तिक २० गते पाटन नगरपालिका –६ मा बुवा उदयसिंह भण्डारी र आमा कमला भण्डारीको कोखबाट दामोदर भण्डारी जन्मेका थिए । उनले २०४६ सालदेखि नै राजनीति शुरु गरेका उनका निकटहरुले बताएका छन् ।
२०४८ सालमा अनेरास्ववियू बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका भण्डारी २०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने । त्यसपछि भण्डारी २०५४ सालमा जिल्ला कमिटी उपसचिव भए । २०५६ देखि २०६४ सम्म नेकपा एमाले बैतडीको सचिव रहेका भण्डारी पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि एमाले बैतडीको अध्यक्ष बने । अहिले उनी एमाले सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्ष रहेका छन् ।
सक्रिय राजनीतिमा होमिएका भण्डारी लगातार जित निकाल्दै आएका छन् । २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा बैतडी क्षेत्र नं १ बाट जित हासिल गरेका भण्डारीले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि जित हात पारेका थिए । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रका नरेन्द्र कुँवरलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।
यसअघि २०७३ सालमा अर्थ राज्यमन्त्रीको पद सम्हालिसकेका भण्डारी दोस्रोपटक मन्त्री बनेका हुन् । २०७० को निर्वाचनमा भण्डारी बैतडी–१ बाट ११ हजार ६७२ मत ल्याएर पहिलोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उतिवेला उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका लोकराज अवस्थीले १० हजार ३१४ मत पाएका थिए ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट भण्डारीले ११ हजार २३३ को मतान्तरले कांग्रेस उम्मेदवारलाई नरबहादुर चन्दलाई हराएका थिए । त्यतिवेला उनले ३९ हजार ५२४ मत ल्याएका थिए ।
तेस्रो पटक ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका नेता नरेन्द्र कुँवरलाई पराजित गर्दै भण्डारीले सिंहदरबारको यात्रा तय गरेका हुन् । यो संसदीय निर्वाचनमा भण्डारीले ३३ हजार ६११ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याएका थिए ।
विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका दामोदर भण्डारी एमालेमा अडिग रहे । नेता भण्डारी २०७९ सम्म आइपुग्दा सफल राजनीतिज्ञका रूपमा चिनिन्छन् ।
पार्टी संगठन निर्माणमा कुशल नेताको रुपमा रहेका भण्डारीले आफ्नो संगठन बलियो बनाएका छन् । आफूले बितेको दशकमा पाटन विमानस्थल, पाटन–पञ्चेश्वर सडक, महाकाली करिडोर लगायत शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइको क्षेत्रमा काम गरेको उनको दाबी रहेको छ ।




