Sagun Khabar
दशरथचन्द नगरपालिकाको दोश्रो नगरसभा सम्पन्न, के –के भए निर्णय ? 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाको दोश्रो नगरसभा मंगलबार सम्पन्न भएको छ । नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतमा सम्पन्न भएको नगरसभाले विभिन्न नीति, नियम र ऐन पारित गर्ने र नयाँ निर्माण गर्ने निर्णय गरेको छ । 

नगरसभाले पहिलो पटक नगर योजना आयोग गठन गरेको छ । आयोगको संयोजकमा एमालेका निर्मल पाण्डेलाई तोक्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता अजबबहादुर पाण्डेले बताए । आयोगको अन्य सदस्य पछि थप गर्ने निर्णय भएको उनले सुनाए । 

यस्तै नगरपालिकाले नगरपालिकाको शिक्षा ऐन बनाउने निर्णय गरेको छ । यसका लागि दशरथचन्द नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मोहनदेव जोशीलाई संयोजक तोकेको छ । यस्तै नगर प्रमुख र उपप्रमुखको सचिवालय सम्बन्धि कार्यविधि पनि नगरसभाले पारित गरेको प्रवक्ता पाण्डेले बताए । 

यस्तै नगर युवा परिषद गठन ऐन २०७९ निर्माण गर्ने निर्णय पनि नगरसभाबाट पास भएको छ । यस्तै नगरपालिकाले बनाएको बालविवाह अन्त्यका लागि रणनैतिक योजना पनि पारित गरेको छ । यस्तै आर्थिक सहयोग सम्बन्धि कार्यविधि बनाउने निर्णय समेत भएको छ । यसैगरी नगरपालिकाको लैंगिक तथा सामाजिक समावेशीकरण नीतिलाई संशोधन गरेर पारित गर्ने निर्णय समेत भएको प्रवक्ता पाण्डेले बताए । 
 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update