Sagun Khabar
लगातारको खडेरीले बैतडीमा गहुँबाली सुक्न थाल्यो 

बैतडी –यो बर्ष हिउँदे बर्षा नहुँदा बैतडीमा गहुँबाली सुक्न थालेको छ । लगातारको खडेरीले गहुँबाली सुक्न थालेको स्थानीय किसानहरुले बताएका छन् । सिँचाइको सुविधा नभएको ठाउँमा गहुँबाली सुक्न थालेको हो ।

खेतमा लगाएको गहुँबाली सुक्न थालेको दशरथचन्द नगरपालिका २ का किसान गणेशबहादुर बोहराले बताए । उनले भने ‘लगातारको खडेरीले गहुँबाली सुक्न थालेको छ । खेतमा सिँचाइको सुविधा छैन् ।’

सिँचाइको अभाव भएका उच्च पहाडी र लेकाली क्षेत्रमा गहुँबाली सुक्न थालेका सुर्नया ६ का किसान गौरीदत्त अवस्थीले बताए । यो बर्ष खडेरीले गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको उनले बताए । उनले भने ‘लगातारको खडेरीले खेतमा लगाएको गहुँबाली सुक्न थालेको छ । यो बर्ष गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।’

खेतमा लगाएको गहुँबाली सुक्न थालेपछि भोकमरी हुने भन्दै किसानहरु चिन्तित बनेका छन् । बर्खेबाली मध्येको मकैमा जंगली जनावर क्षति पुर्याउँदा हरेक बर्ष उत्पादनमा कमी आउने गरेको छ । हिउँदमा खडेरीका कारण गहुँ उत्पादनमा कमी आउने गरेको किसानहरुले बताएका छन् । 

बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँखेती हुँदै आएको छ । यो मध्ये ८ हजार ५ सय हेक्टरमा मात्रै सिँचाइ सुविधा रहेको छ । सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव पर्न थालेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख मिलन कँडेलले जानकारी दिए । उनले भने ‘खडेरीका कारण गहुँबाली उत्पादनमा ह्रास आउन सक्छ । अझै एकहप्ता सम्म पानी नपरेमा धेरै असर पर्ने देखिन्छ ।’

खडेरीका कारण हिउँदेबालीको उत्पादनमा कमी आउने भएपनि खाद्यान्न आयातमा वृद्धि हुने भएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update