Sagun Khabar
बैतडीको मेलौली नगरपालिकामा एक हप्तापछि कामकाज सुचारु 

बैतडी –बैतडीको मेलौली नगरपालिकामा एक हप्तापछि नियमित कामकाज सुचारु भएको छ । नगरपालिकामा गरिएको तालाबन्दी मंगलबार खुलेपछि आजदेखि नियमित रुपमा कामकाज सुचारु भएको हो । 

मेलौली नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको बिषयलाई लिएर वडा नं ७ का स्थानीयबासिन्दाहरुले पौष ५ गते नगरपालिकामा तालाबन्दी गरेका थिए । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै ठाउँमा आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गर्दै तालाबन्दी गरिएको थियो । 

यस्तै वडा नं १ का बासिन्दाहरुले पनि वडा नं १ को बिट्ठेनीमा आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गरिरहेका छन् । दुवै पक्षले आ–आफ्नै ठाउँमा अस्पताल निर्माण हुनुपर्ने माग राखेपछि २०७० सालदेखि अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन् । 

गएको बिहीबार दुवै पक्षबीच अस्पताल निर्माणका बिषयमा विवाद हुँदा झडप समेत भएको थियो । सो झडपमा परेर ३५ जना घाइते भएका थिए । 

मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको रहोबारमा छलफल गरेर तालाबन्दी खोल्ने निर्णय भएपछि आजदेखि नियमित कामकाज सुचारु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए । अस्पताल निर्माणका बिषयमा नगर प्रमुख फर्किएपछि मात्रै छलफल हुने उनले बताए । 

मेलौलीमा अस्पताल निर्माणका बिषयमा दुवै पक्षबीच विवाद बढ्दै गएपछि सामाजिक सदभाव समेत बिग्रदै गएको छ । दुवै पक्षबीच अहिले पनि सम्वादको वातावरण बन्न सकेको छैन् । आ–आफ्नै क्षेत्रमा अस्पताल निर्माण गर्ने ‘इगो’का कारण समस्या थप पेचिलो बन्दै गएको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update