बैतडी- बैतडीको जल स्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको नयाँ भवन हस्तान्त्रण नहुँदा सेवा प्रवाह गर्न समस्या भएको छ । समझौता अनुसार निर्माण कम्पनीले गत वर्षमै भवन हस्तान्त्रण गर्नेु पर्ने भएपनि अहिले सम्म हस्तान्त्रण नगर्दा कर्मचारीहरुलाई सेवा प्रवाह गर्न समस्या भएको हो ।
भवन हस्तान्त्रण नहुँदा जिर्ण भवन बाट सेवा प्रवाह गर्नु पर्ने बाध्य रहेको सिंचाइ डिभिजन कार्यालय पाटन बैतडीका नायब सुब्बा बिर सिंह महराले बताए । जल स्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय पाटनको नयाँ भवन बनेको छ । तर हस्तान्त्रण हुन सकेको छैन् ।
नयाँ भवन हस्तान्त्रण नहुँदा कर्मचारीहरुले पुरानै भवनबाट सेवा दिनु परिरहेको छ । भवन हस्तान्त्रण नभएकै कारण कर्मचारीले अहिले एउटै कोठामा बसेर काम गरिरहेका छन् । समयमै भवन हस्तान्त्रण नहुँदा सेवा सम्पादनमा समस्या भएको कर्मचारीहरुको भनाई छ ।
अहिले एउटै कोठामा बसेर कर्मचारीहरुले प्राविधिक शाखा र योजना शाखाका कामकाजहरु गरिरहेका छन् । भवन अभावकै कारण एउटै कोठामा बसेर प्राविधिक शाखा र योजना शाखाका कामकाजहरु सञ्चालन गर्नुपरेको सिंचाइ डिभिजन कार्यालय बैतडीका एसओेसिएसन अर्गनाइजर लोकेन्द्र भट्टले बताए । पुरानो भवन जिर्ण भएर छतबाट सिमेन्टका टुक्रा टाक्री झर्ने भएकाले निकै समस्या हुने गरेको उनले बताए ।
धेरै चोटी छतबाट सिमेन्ट खसेर चोटपकट समेत लागि सकेको सिचाइ डिभिजनका नासु महराको भनाई छ । जिर्ण भवन भएकाले डराएर काम गर्नु परेको उनले बताए । भवन अभावका कारण सेवा प्रवाहमा समस्या झेलिरहेका कर्मचारीको दुखेसो छ । जिर्ण भवन भएकाले आफुहरुलाई सेवा प्रवाहमा समस्या भएको र सेवाग्रहीलाई पनि सेवा लिन समस्या भएको कर्मचारीहरुले बताए । भवन हस्तान्त्रण भए काम गर्न सजिलो हुने कर्मचारीहरुको भनाई छ ।
जलउत्पन्न प्रकोप नियन्त्रणका योजना, तटबन्धका योजना निर्माण देखि आपतकालिन जाली पनि सिचाइ डिभिजन कार्यालय पाटनले वितरण गर्ने गरेको कार्यालयका एसओेसिएसन अर्गनाइजर भट्टले बताए । २०७५ साल पुष २५ गते रोसन आरबि कन्सट्रक्सन जेभी काठमाण्डौले भवन निर्माणको ठेक्का पाएको थियो ।
सम्झौता अनुसार निर्माण कम्पनीले २०७८ असार ३० गते भवन हस्तान्त्रण गर्नुे पर्ने हो तर अझै भएको छैन् । यता निर्माण व्यवसायी बिरेन्द्र चन्दले भने समयमै निर्माण कार्य सम्पन्न भएपनि भुक्तानी नपाउँदा हस्तान्त्रण गर्न नसकिएको बताए । निर्माण कार्य सम्पन्न भएपनि ७५ लाख रकम लिन बाँकी रहेको उनले बताए ।
डोटीको संघीय सघन शहरी विकास आयोजना मार्फत ३ करोड २८ लाखको लागतमा भवन निर्माण भएको हो । उनले भने’ ‘पुरा भुक्तानी मिलेको छैन्, ८ महिना भइसक्यो ७५लाख लिनु बाँकी छ, हर्जना सहित हामिले भुक्तानी उल्लेख गरेका छौँ।’ ‘बुझाउन खोजि रहेका थियौँ, पेमेन्ट पनि नआउने डोटीबाट मान्छे पनि नआउने त्यसैले ढिलाइ भइरहेको छ ।’
निर्माण सम्पन्न गरेर भवन बुझाउन खोजेपनि भुक्तानी नआउने र डोटी कार्यालयबाट मान्छेपनि नआउँदा ढिलाइ भइरहेको निर्माण व्यवसायी चन्दले बताए । यस्तै उनले भवन निर्माण भइसकेकाले कर्मचारीलाई बस्नका लागि रोकटोक नगरेको पनि बताए ।




