बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका ४ स्थित आम्चोरा स्वास्थ्यचौकी र दशरथचन्द नगरपालिका ९ स्थित जोशीबुंगा स्वास्थ्यचौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले ती दुवै स्वास्थ्यचौकीलाई बिहीबार किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरेको हो ।
किशोरकिशोरीहरुलाई विभिन्न खालका स्वास्थ्य सेवा प्रदान गर्नका लागि अलगै कक्षको व्यवस्थापन गरि उनीहरुलाई चाहे अनुसारको सेवा सुचारु भएपछि स्वास्थ्यसंस्थाहरुलाई किशोरकिशोरीमैत्री प्रमाणीकरण गर्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘अहिले धेरै ठाउँका स्वास्थ्यचौकीमा किशोरकिशोरीहरु निर्धक्क रुपमा सेवा प्राप्त गरिरहेका छन् । उनीहरुलाई अलगै कक्षको व्यवस्थापन गरिएको छ । तालिमप्राप्त स्वास्थ्यकर्मीहरुको समेत व्यवस्थापन गरिएको छ ।यस्ता स्वास्थ्यचौकीहरुलाई किशोरकिशोरीमैत्री प्रमाणीकरण गर्ने गरेका छौं ।’
किशोरकिशोरीमैत्री स्वासथ्य संस्था प्रमाणीकरणका लागि तोकिएका मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाहरुलाई किशोरकिशोरीमैत्री प्रमाणीकरण गर्ने गरिएको छ ।
स्वास्थ्यचौकीहरुलाई किशोरकिशोरीमैत्री प्रमाणीकरणका लागि राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र आड्रा नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरेको आड्रा नेपालका कार्यक्रम संयोजक राजीव यादवले बताए ।
आम्चोरा स्वास्थ्यचौकीलाई किशोरकिशोरीमैत्री प्रमाणीकरण कार्यक्रममा पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्टले पालिकाका अन्य स्वास्थ्यचौकीहरुलाई पनि किशोरकिशोरीमैत्री बनाउनका लागि पहल गर्ने बताइन् ।
बैतडीमा अहिले सम्म १४ ओटा स्वास्थ्यचौकीहरुलाई किशोरकिशोरीमैत्री प्रमाणीकरण गरिसकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।




