Sagun Khabar
बैतडीको पञ्चेश्वरले खरीद गरेन ‘न्यानो झोला’

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकाले चालु आर्थिक बर्षको ६ महिना बितिसक्दा समेत न्यानो झोला खरीद गरेको छैन् । जन्मने बित्तिकै नवजात शिशुलाई चिसोबाट बचाउन न्यानो झोला दिने गरिएको भएपनि पञ्चेश्वर गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट न्यानो झोला वितरण नभएको हो । 

नवजात शिशुलाई शितांग हुनुबाट बचाउनका लागि न्योनो झोला महत्वपूर्ण भएपनि स्वास्थ्य संस्थाहरुमा न्यानो झोला नभएको सम्बन्धित स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन् । संघीय सशर्त अनुदान अन्तर्गतको सो कार्यक्रम नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएपनि पञ्चेश्वरले न्यानो झोला नै खरीद गरेको छैन् । 

स्वास्थ्य संस्थाहरुमा न्यानो झोला नहुँदा नवजात शिशुहरुलाई त्यतिकै पठाउनुपर्ने बाध्यता रही आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । चिसोको समयमा नवजात शिशुहरुलाई शितांग हुनसक्ने सम्भावना रहन्छ । शितांग हुनबाट बचाउनका लागि न्यानो झोला महत्वपूर्ण भएपनि पञ्चेश्वर गाउँपालिकाले अहिले सम्म न्यानो झोला खरीद नगरेको जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘नवजात शिशु मृत्युदर घटाउनका लागि न्यानो झोला महत्वपूर्ण सामग्री हो । यसले नवजात शिशुलाई शितांग हुनबाट जोगाउँछ । तर पालिकाले अहिले सम्म खरीद नगर्नु दुखद कुरा हो ।’

न्यानो झोला खरीदका लागि प्रक्रिया अघि बढीसकेको पञ्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर बोहराले बताए । उनले भने ‘सम्बन्धित शाखा प्रमुखले यसमा चासो दिनुपर्ने हो । पछिल्लो समयमा जानकारी आएको छ, यसका लागि खरीद प्रक्रिया अघि बढीसकेको छ ।’

यता स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले भने विभिन्न कारणले समयमै न्यानो झोला खरीद हुन नसकेको भन्दै पन्छिए । 

पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्टले न्यानो झोला खरीद नभएको बिषयमा आफूहरुलाई बल्ल जानकारी आएकाले तुरुन्तै खरीद गर्नका लागि प्रक्रिया अघि बढाउने बताइन् । 

ढिलो गरी पञ्चेश्वरले न्यानो झोला खरीद गर्ने बताएपनि साउनदेखि अहिले सम्म जन्मेका नवजात शिशुहरु यो सुविधाबाट वञ्चित भएका छन् । सशर्त अनुदानका कार्यक्रम समेत समयमा कार्यान्वयन नहुँदा समग्र स्वास्थ्यका सुचकांकमा प्रभाव परिरहेको स्वास्थ्य प्रमुख भट्टले बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update