बैतडी –बैतडीको दशरथचन्द नगरपालिकास्थित दशरथचन्द मावि सुन्दरखालीको ६६ औं बार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती चन्दको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक तेजप्रकाश भट्टले विद्यालयको आर्थिक, भौतिक र शैक्षिक प्रगति विवरण पेश गरेका थिए । बार्षिकोत्सव समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुती समेत प्रदर्शन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्दले बताइन् ।
बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुस्कार वितरण गरिएको छ भने नियमित हाजिर हुने विद्यार्थीका अभिभावकहरुलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट हुने छात्राछात्राका अभिभावकहरुलाई पनि सम्मान गरिएको अध्यक्ष चन्दले बताइन् ।
यस्तै विद्यालयका शिक्षकहरुले आफ्नो तलबबाट केही रकम बचाएर विद्यालयका ५२ जना छात्रछात्राहरुलाई विद्यालय पोशाक वितरण गरेका छन् । गरीब तथा जेहेन्दार छात्रछात्राहरुलाई पोशाक वितरण गरिएको हो ।
यस्तै विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिका सदस्य लगायत अन्य अभिभावकहरुबाट केही चन्दा समेत संकलन भएको विद्यालयले जनाएको छ । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि चन्दा संकलन गरिएको हो ।




