Sagun Khabar
घाँटी  रेटेर घाइते बनाएकी नेहालाई बोल्नै समस्या

बैतडी –चक्कु प्रहारबाट गम्भीर घाइते भएकी पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी १५ बर्षीया नेहा लुहारलाई बोल्नका लागि समस्या हुने गरेको छ । गएको मंसिर १३ गते शिवनाथ ४ सोलपालाका भरतराम कोलीले ज्यान मार्ने उद्देश्यले नेहाको घाँटीमा चक्कुले प्रहार गरेको भएपनि उनी बाँच्न सफल भएकी थिइन् । 

नेहाकी फुपु २१ बर्षीया माया लुहारको कोलीले घाँटी रेटेर हत्या गरेका थिए । घाइते भएको भोलिपल्ट फेला परेकी नेहाको डडेल्धुरा अस्पतालमा उपचार गरिएको भएपनि उनको बोली स्पष्ट हुन सकेको छैन् । घाँटीमा गहिरोको चोटका कारण भएको घाउ निको भएपनि बोल्नमा उनलाई निकै समस्या हुने गरेको छ । 

गएको हप्तामात्रै अस्पतालबाट घर फर्केकी नेहा विद्यालय आउने गरेकी छन् । कक्षा ७ मा अध्ययन गरिरहेकी नेहाको बोली स्पष्ट नभएको जबलपुर मावि सैलोडाका प्रधानाध्यापक शम्शेरसिंह घोटाले बताए । उनले भने ‘हाम्रो ठाउँमा मंसिर १३ गते कहालीलाग्दो घटना भयो । त्यो घटनामा नेहा बाँचिन तर उनको बोलीमा अहिले स्पष्टता छैन् ।’

नेहालाई अहिले पनि सोही घटनाले डर लागिरहेको हुन्छ । कहालीलाग्दो घटनाबाट आफ्नो ज्यान जोगाएकी नेहाले बोल्न भने निकै समस्या हुने गरेको बताइन् । उनले भनिन् ‘बोल्नका लागि निकै समस्या हुन्छ । आवाज स्पष्ट आउँदैन् । जिब्रो लर्बरिने गर्दछ ।’

नेहालाई थप उपचारका लागि अन्य सुविधा सम्पन्न अस्पतालमा लैजाने परिवारले तयारी गरेको भएपनि आर्थिक अभाव रहेको उनका आफन्तहरुले जनाएका छन् । ‘नेहालाई थप उपचारका लागि बाहिरका अस्पताल लैजाने हुन् भन्ने कुरा सुनेकी छु । तर परिवारको आर्थिक अवस्था पनि राम्रो छैन् ।’पञ्चेश्वर ४ की महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी कमला सार्कीले भनिन् ‘नेहाको बोलीमा समस्या रहेको छ । अहिले बोल्न नै सक्तैन् ।’

नेहालाई पछिल्लो समयमा साथीहरुसंग समेत घुलमील हुन समस्या भइरहेको छ । बोलीमा अस्पष्टता भएका कारण उनी खासै घुलमील हुन नसकेको प्रधानाध्यापक घोटाले बताए । उनले भने ‘नेहाको थप उपचार आवश्यक छ । यसका लागि सबैले सहयोग गरिदए हुन्थ्यो ।’

मंसिर १३ गते शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सीमानामा भरत कोलीले चक्कु प्रहार गरेर नेहालाई घाइते बनाएका थिए । उनी भागेर ज्यान जोगाउन सफल भएकी थिइन् । २१ बर्षीया माया लुहारको भने कोलीले हत्या गरेका थिए । उनको शव शिवनाथ  मन्दिर नजिकैको जंगलमा फेला परेको थियो । अभियुक्त कोली अहिले पुर्पक्षका लागि जिल्ला कारागार बैतडीमा छन् । उनी सशस्त्र प्रहरीमा समेत कार्यरत रहेका थिए । 
 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update