Sagun Khabar
बैतडीको सुर्नया गाडमा ८ वर्ष सम्म बनेन् मोटरेबल पुल, असारमा सक्ने लक्ष्य 

बैतडी- बैतडीको पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अन्तर्गत  सुर्नया गाडको त्रिपुरेश्वरमा निर्माणाधिन मोटरेबल पुलको कामले तिब्रता पाएको छ । ८ वर्ष सम्म निर्माण सम्पन्न हुन नसकेको उक्त पुलको निर्माण कार्यले अहिले तिब्रता पाएको हो ।

पुलको ५८ प्रतिशत भौतिकि प्रगति भइसकेको सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी एवं इन्जिनियर राहुल राज पाण्डेयले बताए । अहिले पुल निर्माणको काम धमाधम भइरहेकाले यो वर्ष भित्रै सम्पन्न हुने उनले बताए ।

आर्थिक वर्ष २०७१ भदौ १५ बाट निर्माण कार्य सुरु गरेर ३ वर्षभित्र निर्माण सम्पन्नको लक्ष्य राखिएको सो पुलको निर्माण कार्यले अहिलेसम्म पूर्णता पाउन सकेको छैन् । निर्माण व्यवसायी लगायत अन्य प्राविधिक कारणहरुले ढिलाई भएको स्वीकार गर्दै सडक डिभिजनका इन्जिनियर पाण्डेयले असार भित्र पुल निर्माणले पूर्णता पाउने  बताएका छन् ।  

निर्माणको जिम्मा पाएको कम्पनीले भने चार पटक म्याद थप गर्दा पनि निर्माण गर्न नसेको हो । २०७१ भदौ १५ गते पुल निर्माण लागि सम्झौता भएपनि ३२ महिना मोटरेबल पुल बन्ने  ठाउँमा जाने बाटोको विवाद, १ वर्ष संघ र प्रदेश मध्ये कसले हेर्ने भन्ने अन्यौलता लगायतका मुआम्बजा विवादहरुले पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीको भनाई  छ । 

पुल नहुँदा वर्षातको मौसममा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवाजजावत गर्न र खाद्यन्नका सामान ढुवानीका लागी घण्टौँ पैदल हिड्नुपर्ने कैलपाल सकारको स्थानीयहरुको बाध्यता रहेको छ । सडक सञ्जाल बिस्तार भएपनि वर्षातमा मोटरेबल पुलकै अभावका कारण गाडि चढ्न नपाएको स्थानीय प्रकाश विकले बताए ।

पाटन देखि वाड नं १ को सकार सम्म सडक सञ्जाल बिस्तार भएको छ । तर  वर्षातमा मोटरेबल पुलकै अभावका कारण आफुहरुले गाडि चढ्न नपाएका स्थानीय विकले बताए । निर्माण कम्पनी र सरकारका कारण सास्ती भोग्नु परेको स्थानीय विष्णु पाण्डेयले बताए  । 

२ करोड ९३ लाख ६७ हजार ८ सय ५५ रुपैँयाको लागतमा निर्माण भइरहेको पुल अझै सम्पन्न नहुँदा निर्माण कम्पनीका ठेकेदार र सडक डिभिजनको अहिले आलोचना भइरहेको छ । निर्माण कार्य प्रारम्भ गरेको लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीय नागरिकहरु  पनि आक्रोशित बनेका छन् । 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update