बैतडी –बैतडीको पाटन नगरपालिकाले अपहेलित गाउँका नाम परिवर्तन गर्ने कार्यलाई जारी राखेको छ । शनिबार पाटन नगरपालिका वडा नं ६ का विभिन्न टोलका नाम परिवर्तन गरिएको वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले जानकारी दिए ।
नगरपालिकाले अपहेलित गाउँका नाम परिवर्तन गर्ने निर्णय अनुसार वडा नं ६ भित्रका ४ ओटा टोलका नाम परिवर्तन गरिएको वडा अध्यक्ष बिष्टले बताए ।
सम्बन्धित गाउँमै पुगेर स्थानीय नागरिकको भेला गरी गाउँटोलका नाम परिवर्तन गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले बताए ।
शनिबार विभिन्न गाउँमा भएको भेलाले गाउँ टोलको नाम परिवर्तन गरेको उनले बताए । पाटन नगरपालिका वडा नं ६ स्थित भट्टाड टोलको नाम परिवर्तन गरी बयलबाटा टोल राखिएको छ । यस्तै भण्डारी गाउँ–भुल्यौडा टोलको नाम परिवर्तन गरी खसरबाटा टोल राख्ने निर्णय भएको छ । यस्तै भुल्यौडाको टोलको नाम परिवर्तन गरी ढुंगे ओखल टोल र औज्यौडा टोलको नाम परिवर्तन गरी तीलगाउँ टोल राखिएको वडा अध्यक्ष बिष्टले बताए ।
स्थानीयहरुको भेलामा छलफल गरेर टोलहरुको नाम परिवर्तन गरिएको हो । अब नगरपालिकाले पनि ती टोलहरुमा पत्राचार गर्दा नयाँ नामले पत्राचार गर्नका लागि आग्रह गरिएको बताइएको छ ।
कुनै जात,धर्म, सम्प्रदाय बिशेषलाई होच्याउने गरेर राखिएका टोलको नाम परिवर्तन गर्ने कार्य जारी रहेको उपप्रमुख बोहराले बताए ।यसअघि वडा नं ५ का विभिन्न टोलको नाम परिवर्तन गरिएको उनले बताए ।
नगरपालिकाका १० ओटै वडामा रहेका अपहेलित गाउँ÷टोलका नाम परिवर्तन गरिने पाटन नगरपालिकाले जनाएको छ ।




