बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका –४ फ्याउलीकी २१ बर्षीया माया लुहारको हत्या भएको एक महिना बढी भइसकेको छ । गएको मंसिर १३ गते मायाको घाँटी रेटर शिवनाथ ४ सोलपालाका भरतराम कोलीले हत्या गरेका थिए ।
मायाको हत्यापछि त्रासमा रहेको गाउँ समान्य अवस्था फर्किन थालेपनि मायाकी आमा भने अहिले पनि विक्षिप्त अवस्थामा रहेकी छन् । मायाकी आमा ५५ बर्षीया रमा लुहार अझै पनि टोलाइरहने गरेको स्थानीय समेत रहेकी महिला स्वास्थ्य स्वयंसेविका कमला सार्कीले बताइन् । उनले भनिन् ‘मायाका आमा अझै पनि बिक्षिप्त अवस्थामा छन् । कहिले होस हुने, कहिले होस नहुने अवस्था रहेको छ । खाना समेत राम्रोसंग खान थालेका छैनन् ।’
जेठी छोरी गुमाएको एक महिनामै कान्छी छोरीको हत्या भएपछि रमालाई निकै सकस भइरहेको सार्कीले बताइन् । उनले भनिन् ‘काखका छोराछोरी गुमाउँदा कसलाई पीडा नहोला र ? त्यसमा पनि मायाको त्यसरी हत्या भयो । एक महिना अघिमात्रै जेठी छोरीको भारतमा मृत्यु भएको थियो ।’
रमा लुहार बेलाबेला छोरीलाई बोलाएर टोल्हाउने गरेको अर्की स्थानीय गोदावरी चन्दले बताइन् । मायाको हत्यापछि लुहार परिवार अझै पनि समान्य अवस्थामा फर्कीनसकेको उनले बताइन् । उनले भनिन् ‘मायाकी आमालाई सबैभन्दा गाह्रो भएको छ । उहाँले राम्रोसंग खाना समेत खानु भएको छैन् । अझै पनि छोरी सम्झेर टोल्हाउने गर्नुभएको छ ।’
बैनीको हत्यापछि घरपरिवारमा निकै समस्या भएको मृतक मायाका दाजु प्रकाशराम लुहारले बताए । परिवार शून्य जस्तै भएको उनले सुनाए । उनले भने ‘आमालाई निकै गाह्रो भएको छ । बैनीको हत्या भएपछि घरपरिवार नै शून्य जस्तो भएको छ ।’
मायाको हत्या भएकै दिन घाँटी रेटेर घाइती बनाएकी उनकी भदै १५ बर्षीया नेहा लुहारलाई पनि बोल्नका लागि समस्या हुने गरेको छ । उनको उपचार भएपनि बोल्नका लागि अझै समस्या रहेको पारिवारिक श्रोतले बताएको छ ।
यता माया हत्याका अभियुक्त भरतराम कोलीलाई पुर्पक्षका लागि कारागार चलान गरिसकिएको छ । मायाको चक्कुले घाँटी रेटेर हत्या गरेको स्वीकार गरीसकेका कोलीलाई प्रहरीले आफ्नो अनुसन्धान सकाएर अदालतमा पेश गरेको थियो । अदालतले कोलीलाई पुस ६ गते नै पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
मंसिर १३ गतेका दिन हत्या गरिएकी मायाको शव मंसिर १४ गते शिवनाथ मन्दिर नजिकैको जंगलमा फेला परेको थियो ।




