बैतडी –बैतडीका बजार क्षेत्रमा सवारी साधनलाई हर्न निषेध गरिएको छ । बजार क्षेत्रलाई ध्वनी प्रदूषणमुक्त बनाउने उद्देश्यका साथ हर्न निषेध गर्ने निर्णय गरिएको हो । बजार क्षेत्रमा हुने ध्वानी प्रदूषणलाई नियन्त्रण गर्नका लागि यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए ।
तर यो निर्णय कार्यान्वयनमा निकै चुनौती रहेको देखिन्छ । सडकहरु व्यवस्थित नहुँदा निर्णय कार्यान्वयनमा समस्या रहेको चालक र यातायात व्यवसायीले बताएका छन् । यो भन्दा पहिला पनि हर्न निषेध गर्ने निर्णय भएको तर कार्यान्वयनमा आउन नसकेको गोठलापानीका स्थानीय सुनित भट्टले बताए । उनले भने ‘बजार क्षेत्रमा हर्न निषेध गर्नु राम्रो भएपनि कार्यान्वयनमा निकै चुनौती रहेको छ ।’
बजार क्षेत्रका सडकमै पशुचौपाया समेत हुने भएकाले हर्न बजाउनुपर्ने बाध्यता रही आएको यातायात व्यवसायी कर्णबहादुर पाण्डेले बताए । बजार क्षेत्रमा नागरिक समेत सडक ओगटेर हिड्ने भएकाले हर्न बजाउनैपर्ने बाध्यता रहेको उनले सुनाए । उनले भने ‘बजार क्षेत्रमै बढी भीडभाड हुन्छ । कुखुरा, बाख्रा सडकमै हुन्छन् । यो अवस्थामा हर्न नबजाएर के गर्नु ?’
बजार क्षेत्रमा हर्न निषेध गर्नु राम्रो भएपनि त्यसको कार्यान्वयनका लागि सडक क्षेत्र सुधार हुनुपर्ने यातायात व्यवसायी मानबहादुर टेरले बताए । सडकमा विभिन्न खालका अवरोध हुने भएकाले बजार क्षेत्रमा हर्न बजाउनुपर्ने बाध्यता रही आएको उनले बताए ।




