Sagun Khabar
बैतडीको रामपातलमा जगन्नाथ देवता भेटिएको दाबी 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं ४ स्थित रामपातलमा जगन्नाथ देवता भेटिएको दाबी गरिएको छ । यही पौष १२ गते दशरथचन्द नगरपालिका वडा नं ४ का महिलाहरु तरुल खन्नका लागि रामपातल पुगेका बेला जगन्नाथ देवता भेटिएका दाबी गरिएको हो । 

रामपातलको बज्जुरे भन्ने स्थानमा तरुल खन्दा गाईको सुनको मूर्ती र अन्य मूर्ती भेटिएको उनीहरुले बताएका छन् । तरुल खनीरहेको स्थानमा ठूलो सर्प पनि देखिएपछि आफूहरु त्यहाँबाट तर्सीएर भागेको महिलाहरुले बताएका छन् । 

स्थानीय महिलाहरुले गाउँलेलाई सो कुरा सुनाएपछि जगन्नाथ देवताका धामी नैनराम भुल सहितका गाउँलेहरु जम्मा भएर छलफल समेत गरेका थिए । धामी काँपेर सो ठाउँमा जगन्नाथ देवताको उत्पत्ति भएको बताएपछि स्थानीयहरुले सो ठाउँमा पुगेर पूजाआजा समेत गरेका छन् । 

जगन्नाथ देवतालाई भुुल समुदायको कूल देवताको रुपमा मान्ने गरिएको छ । मूर्ती भेटिएको ठाउँमा मन्दिर बनाउने सोच रहेको स्थानीयहरुले बताएका छन् । 

जगन्नाथ मन्दिरलाई बैतडीको प्रमुख धार्मिकस्थलको रुपमा लिने गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update