बैतडी –जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले कोरोनाको जोखिमबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । केही दिन पहिला बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना सम्भावित चौथो लहरबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड परिपालनाका लागि सबैलाई आग्रह गर्ने निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
कोभीड संक्रमणबाट बच्नका लागि खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय समेत भएको छ । कोरोना विरुद्ध खोप नलगाएकाहरुलाई नजिकका स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत आग्रह गरिएको उनले बताए । यस्तै बुस्टर डोज लगाउन बाँकी रहेका नागरिकलाई पनि बुस्टर डोज लगाउन आग्रह गरिएको छ ।
बैतडी भारतसंग सीमा जोडिएको जिल्ला भएकाले सीमा नाकामा उच्च सतर्कता अपनाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । सीमा नाका झुलाघाटस्थित हेल्थ डेस्कबाट नियमित रुपमा कोरोना परीक्षण भइरहेको उनले बताए । केही दिनभित्र सोही डेस्कबाट कोरोना विरुद्ध खोप दिने तयारी समेत भएको उनले बताए ।
भारत लगायतका छिमेकी देशहरुमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले यसबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । भीडभाड नजाने, जानैपरे मास्क र सेनेटाइजरको प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
बैतडीमा अहिले सम्म कोरोनाबाट १९ जनाको ज्यान गइसकेको छ । पहिलो लहरमा ३ जना र दोश्रो लहरमा १६ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।




