Sagun Khabar
रूसी राष्ट्रपति पुटिनद्वारा ३६ घण्टे युद्धविरामको घोषणा : युक्रेनको अस्वीकार

युक्रेनमाथि आक्रमण सुरु गरेको १० महिनाभन्दा लामो समयपछि रुसले पहिलो पटक ३६ घण्टे युद्धविरामको घोषणा गरेको छ।

‘अर्थोडक्स’ इसाईहरुको क्रिसमस पर्वको अवसर पारेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आजदेखि लागू हुने गरी ३६ घण्टाका लागि युद्धविरामको घोषणा गरेका हुन् ।

जनवरी ७ तारिखमा (अर्थोडक्स) क्रिसमस मनाइँदैछ । युक्रेनले अस्थायी युद्धविरामलाई अस्वीकार गरेको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखेलो पाडोल्याकले कब्जा गरेको युक्रेनी भूमि छाडेर रुसी सेना फिर्ता नभएसम्म कुनै पनि अस्थायी युद्धविराम नहुने बताएको बीबीसीले जनाएको छ।

रुसले आफ्नो सुरक्षालाई थप बलियो बनाउने गरी युद्धविराम घोषणा गरेको हुनसक्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।  भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रमा युक्रेनी फौजलाई अगाडि बढ्नबाट रोक्न तथा आफ्ना थप फौज एवम् उपकरणहरू ल्याउने उद्देश्यका साथ पुटिनले युद्धविरामलाई अगाडि सारेको आरोप लगाएका छन् । यसअघि टर्कीले रुसलाई युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न आग्रह गरेको थियो।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा भइरहेको आक्रमण रोक्न तथा युद्धविरामको घोषणा गर्न आग्रह गरेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update