Sagun Khabar
यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको विजयी शुरुवात 

कैलाली –कैलालीको धनगढीमा आइतबारदेखि शुरु भएको १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विजयी शुरुवात गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ९७ रनले हराएर प्रतियोगितामा विजयी सुरुवात गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा एक सय ४७ रन बनायो । कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले । उनी ६६ बलमा ७१ रनमा अविजित रहे । सुदूरपश्चिमका लागि ऋतिक थापाले १८, रविन भण्डारी र आशिष बलायरले १२÷१२ रन तथा युवराज खत्रीले ११ रन बनाए । कर्णाली प्रदेशका लागि दीप पौडेल र आदित्य विक्रम शाहले तीन तीन विकेट लिए । 

एक सय ४८ रनको विजय लक्ष्य पछ्याएर मैदान उत्रिएको कर्णाली प्रदेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ५० रन मात्रै बनाउन सक्यो । उसका लागि आदित्य विक्रम शाहले २० रन बनाए । अन्य खेलाडीहरूले दोहोरो रन अङ्क छुन सकेनन् । सुदूरपश्चिम प्रदेशका भुपेश जोशी, अशोक धामी र सचिन मल्लले तीन तीन विकेट लिए । विक्रम साउदले एक विकेट लिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम प्रदेशका कप्तान नरेन भट्ट म्यान अफ द म्याच भए । उनले नगद दुई हजार सहित ट्रफी पाए । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सात प्रदेशको सहभागिता रहेको एनआईएमवी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको हो । 

प्रतियोगिता अन्तर्गत भोलि दुई खेल हुनेछन् । लुम्बिनी प्रदेश र मधेश प्रदेशले पहिलो तथा बागमती प्रदेश र गण्डकी प्रदेशले दोस्रो खेल खेल्नेछन् । प्रतियोगिता बैशाख १७ गतेसम्म सञ्चालन हुनेछ । यसअघि प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए ।प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् । 

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको इष्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको हो । 

एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता आगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ । सोही प्रतियोगितामा नेपाली टोली पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ । यसै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखेर त्यसबाट उत्कृष्ट १४ जनालाई १६ वर्ष मुनिको नेपाली राष्टिय पुरुष क्रिकेट टीम बनाईने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update