Sagun Khabar
डिसेम्बरयता २० हजारभन्दा धेरै रुसी सैनिक मारिएका अमेरिकाको दाबी

युक्रेनसँगको युद्धमा डिसेम्बरयता २० हजारभन्दा धेरै रुसी सैनिक मारिएका अमेरिकाले दाबी गरेको छ । थप ८० हजारभन्दा धेरै सैनिक घाइते भएका अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका छन् । 

रुसी सैनिकले भोग्नुपरेको क्षतिबारेको यो संख्या अमेरिकी अनुमान भएको बीबीसीले जनाएको छ । अमेरिकाले डिसेम्बरको सुरुदेखि नै बाख्मुतमा भएको नोक्सानीको तथ्याङ्क राखेको जनाएको छ । युद्धमा ज्यान गुमाउनेमध्ये आधा भन्दा धेरैको संख्यामा भाडाका सैनिक रहेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

रुसले गएको वर्ष फेब्रुअरीदेखि युक्रेनमा आक्रमण थालेको थियो । मस्कोले युक्रेनको बाख्मुतमा धेरैजसो भू–भाग कब्जा गरेको छ । तर युक्रेनी सेना आफ्नो क्षेत्र सुरक्षित गर्न लागिपरेका छन् । डोनबास क्षेत्रको बाख्मुतमा आक्रमण गर्ने रुसको प्रयास निरन्तर असफल भएको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता किर्बीले बताए । तर अमेरिकाले पीडित पक्ष भएकाले युक्रेनी हताहतको अनुमान नगरेको जनाएको छ ।

अमेरिकी तथ्याङ्कसहितको दाबीमा अहिलेसम्म रुसले कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update