Sagun Khabar
भारतमा रेल दुर्घटना : ज्यान गुमाउनेको संख्या २ सय ८० पुग्यो 

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ८० पुगेको छ । यस्तै ९ सय जति घाइते भएको अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । बहनागा बाजÞार रेलवे स्टेशन हुँदै गइरहेको शालीमार–चेन्नई कोरोमंडल ट्रेनका १२ डिब्बा पटरीबाट निस्केका थिए । यी डब्बा छेउकै ट्र्याकमा गइरहेको हावड़ा एक्सप्रेस ट्रेन सँग ठोक्किन पुगे । त्यसपछि हावड़ा एक्सप्रेस ट्रेनका पनि ३ डिब्बा पटरीबाट बाहिर आएका थिए । बहनागा बजार स्टेशनमा ४ वटा ट्रैक छन् । एक लूप ट्रेकमा मालगाड़ी रोकेर राखेको थियो । कोरोमंडल ट्रेनका डिब्बा पटरीबाट निस्केर मालगाडीमा ठोक्किएको भारतीय रेल्वेका वरिष्ठ अधिकारीको भनाइलाई उद्धृत गर्दै इण्डियन एक्स्प्रेसले लेखेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुगेका छन् । उनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् भने ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै गम्भीर घाइते भएकाहरुलाई दुई लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई पचास हजार रुपैयाँ प्रदान गर्ने उनले बताए । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । अहिले प्रधानमन्त्री मोदी घटनास्थलतर्फ गइरहेका छन् । 

दुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update