बैतडी –बैतडीमा २० बर्ष मुनि आमा बन्नेको संख्या बढ्दै गएको छ । बालविवाह न्यूनीकरण नहुँदा किशोरी आमाहरुको संख्या बढ्दै गएको हो । बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भएका भएपनि अपेक्षाकृत रुपमा कम हुन सकेको छैन् ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गएको तीन बर्षमा एक हजार एक सय २५ जना किशोरी २० बर्ष मुनि नै आमा बनेका छन् । २० बर्ष मुनि विवाह गरेकाहरुले किशोरावस्थामै सन्तान जन्माएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
आर्थिक वर्ष २०७७÷७८ मा चार सय १५, आर्थिक बर्ष २०७८÷७९ मा तीन सय ८७ र गत आर्थिक बर्षमा तीन सय २३ जना किशोरी आमा बनेको तथ्यांक रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए । बालविवाह नरोकिएका कारणले किशोरावस्थामा आमा बन्नेको संख्या बढेको उनले बताए ।
२० बर्ष मुनि आमा बन्नु जोखिमपूर्ण भएको जिल्ला अस्पताल बैतडीमा कार्यरत डा. धिरज जैसवालले बताए । शारीरिक र मानसिक रुपमा समेत आमा बन्नका लागि २० बर्षपछिको उमेरमात्रै उपयुक्त हुने उनले बताए ।
बालविवाह न्यूनीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले पहल गरिरहेका भएपनि बढ्दो सामाजिक सञ्जालको दुरुपयोग र मोबाइलको दुरुपयोगका कारण बालविवाह रोक्न चुनौती रहेको अभियान्ताहरुले बताएका छन् ।
उमेर नपुग्दै गरेको विवाहका कारण महिलामाथि हुने हिंसा बढ्ने, सानो उमेरमा आमा बन्नुपर्ने जस्ता जोखिम भएपनि सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले बालविवाह न्यूनीकरणमा चुनौती रहेको अभियान्ता कुन्ती भट्टले बताइन् । उनले भनिन् ‘बालविवाहकै कारण भोलिका दिन समस्या हुन्छ भन्ने कुरा थाहा नहुँदा किशोरकिशोरीहरु लहलहैमा लागेर विवाह गरिरहेका छन् । यसले भोलिका दिनमा समस्या निम्त्याउँछ ।’
मुलुकी अपराध संहित ऐन २०७४ ले २० बर्षमुनिको विवाहलाई गैर कानुनी भनेको छ । तर भागेर गरिने विवाहले बालविवाह बढ्दै गएको छ ।
नेपालले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ । सो लक्ष्य प्राप्तिका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले पहल गरिरहेका भएपनि बालविवाह न्यूनीकरण चुनौतीपूर्ण रहेको भट्टले बताइन् ।




