बैतडी–बैतडीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं, भण्डारीगाउँका जयबहादुर भण्डारी र मदन भण्डारीको घरमा आगलागी भएको वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।
मंगलबार दिउँसो २ बजेतिर भएको आगलागी कारण दुई तले चारकोठे घर पूर्ण रुपमा क्षतिग्रस्त भएको वडा अध्यक्ष बोहराले बताए ।
घरधनी जयबहादुर, मदन लगायतका गाउँका अन्य पुरुषहरु समेत मलामी गएका बेला आगलागी हुँदा थप क्षति भएको वडा अध्यक्ष बोहराले बताए । गाउँमा कोही नहुँदा समयमै आगो नियन्त्रण आउन नसकेको उनले बताए ।
आगलागीका कारण जयबहादुर र मदनको घरभित्र रहेका लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएका छन् । आगलागीबाट ५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।
स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको वडा अध्यक्ष बोहराले बताए ।
घर जलेर नष्ट भएपछि भण्डारी परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसीरहेका छन् ।




