Sagun Khabar
रसुवा बाढीः सशस्त्र प्रहरी विनिता बोहराको निधनको खबर निराधार, बैतडीका ७ जना अझै सम्पर्कविहीन

बैतडी  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सशस्त्र प्रहरी बल नेपाल, रसुवामा कार्यरत सशस्त्र प्रहरी जवान (सप्रज) विनिता बोहरा सम्पर्कविहीन भएकी छन्। बैतडीको डिलाशैनी गाउँपालिका–२, छेपट्टा स्थायी ठेगाना भएकी बोहरा हिजो बिहान बाढी आएपछि परिवार र आफन्तको सम्पर्कमा आउन सकेकी छैनन्।

बाढीका कारण सो क्षेत्रमा सञ्चार र आवतजावत ठप्प हुँदा उनको अवस्थाबारे परिवारजन चिन्तित बनेका छन्। तर, आज बिहानैदेखि केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उनको मृत्यु भएको भन्दै भ्रमपूर्ण समाचार तथा पोस्टहरू प्रवाह भइरहेका छन्।

उक्त खबरको हालसम्म कहीँ कतैबाट पुष्टि नभएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिएका छन्। अध्यक्ष जोशीका अनुसार विनिता सम्पर्कविहीन रहेको सत्य भए पनि उनको मृत्यु भएको भन्ने खबर पूर्ण रूपमा झुटो र निराधार हो। उनले यस विषयमा परिवार तथा स्थानीय प्रशासनसँग निरन्तर समन्वय र सम्पर्क भइरहेको स्पष्ट पारेका छन्।

पछिल्लो प्राप्त विवरण अनुसार रसुवा बाढीका कारण बैतडी जिल्लाका कुल सात जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्। बाढीका कारण जलविद्युत् आयोजना, सुरक्षा पोस्ट तथा तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ।

यसैबीच, विभिन्न भागमा बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update