गोविन्द पन्त -बैतडी- बैतडीको पाटन नयाँ शहर आयोजनाको काम शुरु भएको एक दशक बितिसक्दा समेत आयोजना सुस्त गतिमा सञ्चालन भईरहेको छ । सरकारले देशका १० ओटा नयाँ शहर मध्ये पाटनलाई पनि आधुनिक शहर बनाउने घोषणा गरेको थियो । सोही अनुसार नयाँ शहरको केही काम अघि बढेको भएपनि ल्याण्ड पोलिङको काम शुरु हुन सकेको छैन् ।
१० बर्ष अघि देशका १० ओटा शहरलाई नमूना शहर बनाउने घोषणा भएसंगै बैतडीको पाटन पनि नयाँ शहरमा परेको थियो । पाटनलाई नमूना शहर बनाउने घोषणा भएसंगै खुसी भएका यहाँका स्थानीय पछिल्लो समयमा निराश हुँदै गएका छन् । निर्वाचनमा होमिएका सबै दलका उम्मेदवारहरुले पाटन नयाँ शहरलाई चुनावी एजेण्डा बनाएका थिए । सो एजेण्डा चुनावी प्रतिबद्धता पत्रमै सिमित रहेका पाटन नगरपालिका ४ युवा सञ्जालका अध्यक्ष अम्मर प्रसाद भट्ट ले बताए ।
नयाँ शहर घोषणा भएको १० बर्ष बितिसक्दा समेत खासै काम अघि नबढेपछि स्थानीयबासी निराश भएका हुन् । पाटन नयाँ शहर अन्तर्गत स्थानीयहरुको जग्गा एकीकरण गरेर प्लटिङ गर्ने कार्ययोजना समेत रहेको छ । तर स्थानीयहरुको सहमति नहुँदा सो कार्यमा केही पनि प्रगति नभएको पाटन नयाँ शहर आयोजनाका सूचना अधिकारी रोहित राज भण्डारीले बताए ।
यस्तै पाटन नयाँ शहर क्षेत्रभित्र विभिन्न विकास निर्माणका कामहरु सम्पन्न भएपनि मुख्य काम शुरुवात नै हुन नसकेको उनले बताए । पाटनलाई व्यवस्थित शहर बनाइ कम्तीमा एक लाख मानिसको बसोबास गराउने उद्देश्य रहेको भएपनि ल्याण्ड पोलिङको कामनै अघि बढ्न सकेको छैन् । जग्गा एकीकरणको काममा स्थानीयहरुले सहमति जनाएका छैनन् । यस्तै आयोजना कहिले प्रदेश र कहिले संघीय सरकार मातहत रहेकाले पनि खासै काम हुन नसकेको सूचना अधिकारी भण्डारीले बताए। पाटन नयाँ शहरमा अहिले सम्म केही मात्रामा मात्रै भौतिक प्रगति भएको छ । एक लाख बढी मानिसको बसोबास गराउने र आधुनिक शहरको सुविधासहित व्यवस्थित शहर बनाउने निर्णय हुँदा पाटनवासी निकै खुशी भएका थिए ।
नयाँ शहर घोषणा भएयता बर्सेनि करोडको हाराहारीमा खर्च हुँदै आएको छ ।नमूना शहर बनाउने घोषणा भएको दशकौं बितिसक्दासमेत यो शहरमा विकास निर्माणका कामले खासै गति लिन नसकेकामा निरासा छाउँदै गएको स्थानीय युवा दिनेश प्रसाद भट्टको भनाइ रहेको छ । नयाँ शहर आयोजनाको काम शुरु भएको एक दशक बढी भईसक्दा समेत अपेक्षाकृतरुपमा काम अघि बढ्न नसक्नु दुखद भएको उनले बताए । भौगोलिक दृष्टिले अति नै मनमोहक रहेको पाटन शहरका विभिन्न सम्भावित योजना निर्माण गरी विकास निर्माणका कार्यलाई तीव्रताका साथ अघि बढाउनु आवश्यक रहेको छ ।
बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित रहेको र पाटन विमानस्थल पनि पुनःसञ्चालनमा आएपछि यस क्षेत्रको विकासका लागि थप टेवा पुग्ने विश्वास गरिएको छ । पाटन विमानस्थल पुनःसञ्चालनका लागि अहिले पहल भैरहेको पाटन नगरपालिकाले जनाएको छ ।
नेपाल सरकारले घोषणा गरेको १० नमूना शहरमध्येको पाटन शहर निर्माण सम्पन्न भएपछि व्यापार व्यवसाय फस्टाउनुका साथै नयाँ पर्यटकीय गन्तव्य स्थल बन्नसक्ने देखिएको छ । विभिन्न सांस्कृतिकरुपले भरिपूर्ण पाटनको विकास गर्नसके भारतसँग सीमा जोडिएकाले दुईदेशीय व्यापार फस्टाउने पाटन बजारका स्थानीय व्यापारी कृष्ण पन्तको भनाइ रहेको छ ।
उनले भने, ‘व्यापार व्यवसाय पनि फस्टाउने र विदेशी पर्यटकसमेत भित्र्याउन सकिन्छ ।यस्तै बैतडी जिल्ला स्थित पत्तालभूमेश्वर एशियाकै लामो गुफा भएकाले यसको प्रचारप्रसारका लागि विभिन्न कार्य सञ्चालन गर्ने नयाँ शहर आयोजना कार्यालय पाटन बैतडीको योजना रहेको थियो। पाटन प्याराग्लाइडिङको लागि पनि निकै सम्भावना रहेको ठाउँ भएकाले पाटनमा थुप्रै पर्यटक भित्रिने सम्भावना छ ।
यहाँ नेपालकै गहिरो गुफा पत्तालभूमेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निङ्लाशैनी मन्दिर, ईश्वरी गङ्गाधाम, मेलौली भगवती मन्दिर, दोगडाधाम, रौलाकेदार मन्दिर, बाइसताल बनारसी बिश्वनाथ धाम , सिगासधामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ। विभिन्न पर्यटकीय सम्भावना बोकेको पाटन शहरको विकास भइसकेपश्चात् यो क्षेत्रका युवालाई रोजगारीका अवसर प्राप्त हुनेछन ।
अहिले बैतडीबाट कयौँ मानिस तराईतिर बसाइँसराइ गरिरहेका र हजारौं युवा विदेश गइरहेका बेला पाटननै नयाँ शहर बनिसकेपछि यस अवस्थाको अन्त्य हुने स्थानीयवासीहरुको विश्वास छ ।




