Sagun Khabar
‘लागूऔषध नियन्त्रणमा ध्यान केन्द्रित हुनेछ’ : डिएसपी गिरी 

बैतडी –जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले लागू औषध नियन्त्रणमा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । नयाँ प्रहरी प्रमुखको रुपमा आएका डिएसपी गिरीले जिल्लामा क्रियाशील पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन् । 

सुदूरपश्चिममा लागूऔषध नियन्त्रण महाअभियान सञ्चालन भइरहेको जानकारी दिँदै उनले लागूऔषध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखिने बताए । उनले भने ‘लागूऔषधको प्रयोगका कारण किशोरावस्थाका मानिसहरु समेत बर्बाद भइरहेकाले यसको नियन्त्रणमा मेरो ध्यान केन्द्रित हुनेछ ।’

नेपाल प्रहरीको मुख्य काम समाजमा शान्ति सुरक्षा कायम गर्नु रहेको बताउँदै डिएसपी गिरीले शान्ति सुरक्षा कायम गर्ने कुरामा सबैको सहयोग आवश्यक रहेको बताए । यस्तै सवारी दुर्घटना न्यूनीकरणका लागि चालक,सहचालक र अन्य सम्बन्धितहरुलाई प्रशिक्षण दिने आफ्नो योजना रहेको उनले बताए । 

पत्रकारहरुसंगको भेटघाटमा डिएसपी गिरीले आपराधिक क्रियाकलाप न्यूनीकरणमा सञ्चार जगतको पनि महत्वपूर्ण योगदान रहने उल्लेख गरे । 

यस्तै कच्ची सडकमा मनोमानी लिने सवारी भाडाका बिषयमा पनि आफ्नो ध्यान केन्द्रित भएको बताउँदै डिएसपी गिरीले बढी भाडा लिएको पाइएमा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update