Sagun Khabar
सर्पको टोकाइबाट बैतडीका एक किशोर गम्भीर घाइते, डडेल्धुरामा उपचार हुँदै 

बैतडी –सर्पको टोकाइबाट बैतडीका एक किशोर गम्भीर घाइते भएका छन् । मेलौली नगरपालिका १ बगजेबलाका १७ बर्षीय सुजल दयाललाई सर्पले टोकेको हो । 

शुक्रबार बेलुका घरनजिकै बाटोमा हिडिरहेका बेला सुजललाई सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

सर्पले सुजलको दाहिने खुट्टाको औंलामा टोकेको र उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । 

यो बर्षमात्रै बैतडीमा बिषालु सर्पको टोकाइबाट चार जनाको मृत्यु भइसकेको छ । पञ्चेश्वर गाउँपालिका तीनजना र सिगास गाउँपालिकाका एकजनाको सर्पको टोकाइबाट मृत्यु भएको थियो । 

पञ्चेश्वर गाउँपालिका १ सेरीकी ५५ बर्षीया पार्वती घटालको सर्पको टोकाइबाट भदौ १२ गते मृत्यु भएको थियो भने साउन अन्तिम साता पञ्चेश्वर–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको मृत्यु भएको थियो । 

यस्तै वैशाख तेस्रो हप्ता पञ्चेश्वर गाउँपालिका २ डाँगाटोलकी २५ वर्षीया निर्मला लुहारको पनि सर्पको टोकाइबाट मृत्यु भएको थियो । यस्तै जिल्लाको सिगास गाउँपालिका ७ पिपलचौताारका ५५ बर्षीय करी दमाईको गएको जेठ १३ गते सर्पको टोकाइबाट मृत्यु भएको थियो । 

जिल्ला अस्पताल बैतडीमा सर्पदंशको उपचार हुने भएपनि वैद्यको भरपर्दा सर्पदंशका बिरामीहरुले अकालमा ज्यान गुमाउने गरेका छन् । सर्पले टोकीहालेमा वैद्यकहाँ झारफुक गर्ने प्रचलनले जटीलता निम्त्याएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update