बैतडी –नेकपा (माओवादी केन्द्र)निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन् ।
बैतडी घर भएका भट्ट संगठनको अध्यक्षमा चयन भएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्ट संगठनमा दुई कार्यकाल उपाध्यक्ष र पाँच महिना वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । भट्टले संगठनको विधान मस्यौदा समिति संयोजकका रूपमा पनि जिम्मेवारी पूरा गरिसकेका छन् ।
शुक्रबार काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्ष चुनेको हो । चैतमा सम्पन्न संगठनको महाधिवेशनबाट हरिबहादुर रावल अध्यक्ष र भट्ट वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत दोहोरिएका थिए ।
महाधिवेशनले पाँच महिनासम्म रावलले संगठन चलाउने र त्यसपछि नेतृत्व भट्टलाई हस्तान्तरण गर्ने तय गरेको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार संगठनको शुक्रबार सम्पन्न दोस्रो पूर्ण बैठकमा रावलले भट्टलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष चुनिएसँगै भट्टले कर्मचारीको हकहितमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए ।




