Sagun Khabar
बैतडीको सतबाँझस्थित टेलिकमको टावरमा समस्या, सेवाग्राही मारमा 

बैतडी–बैतडीको सतबाँझस्थित नेपाल टेलिकमको टावरमा समस्या आएको छ । टेलिकमको टावरमा समस्या आएपछि भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ । 

सतबाँझको टावरले काम गर्न छोडेपछि बैतडीको सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिकाको केही क्षेत्र, पाटन नगरपालिकाको केही क्षेत्र र दोगडाकेदार गाउँपालिकाको केही क्षेत्रमा भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ । 
टेलिकमको सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक मारमा परेका छन् । टेलिकमको टावरले काम नगर्दा सञ्चार सम्पर्क विच्छेद भएको मुस्याचोरका स्थानीय व्यापारी मानबहादुर टेरले बताए । 

गएको दुईदिनदेखि टावरमा समस्या आएको भएपनि समस्या समाधान हुन सकेको छैन् । टावरमा विद्युत आपूर्तीमा समस्या भएकाले टावरले काम गर्न छोडेको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए । उनले भने ‘टावरमा विद्युत प्रशारण गर्ने तारमा समस्या आएको छ । विद्युत प्राधिकरणसंग यो बिषयमा छलफल भइरहेको छ ।’

टेलिकमको सतबाँझस्थित टावरमा बेलाबेलामा समस्या आउँदा सेवाग्राही मारमा पर्ने गरेका छन् । टावरकै कारण सम्पर्कविहिन जस्तै भएर बस्नुपरेको सुर्नया २ का स्थानीय देवबहादुर चन्दले बताए । उनले भने ‘सतबाँझको टावरमा बेलाबेला समस्या आइरहन्छ । समस्या समाधानका लागि टेलिकमले चासो दिने गरेको छैन् ।’

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update