Sagun Khabar
बैतडीका गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप 

बैतडी –बैतडीका गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्लाका सबै जसो स्थानमा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । मौसममा आएको परिवर्तनसंगै भाइरल ज्वरोका बिरामी बढेका जिल्ला अस्पताल बैतडीमा कार्यरत डाक्टर धिरज जैसवालले बताए । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका उनले बताए । उनले भने ‘अहिले अस्पतालमा आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका छन् । त्यसपछि टाइफाइड, श्वासप्रश्वास लगायतको समस्या भएका बिरामी पनि आउने गरेका छन् ।’

मौसममा आएको परिवर्तनसंगै गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको सुर्र्नया गाउँपालिका ७ स्थित शिखरपुर सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत अहेब हिक्मतबहादुर कुँवरले बताए । स्वास्थ्य इकाइमा हिजोआज दैनिक ३० जना भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका उनले बताए । स्वास्थ्य संस्थामा आउने धेरै जसो बिरामी मध्ये भाइरल ज्वरोका बिरामी धेरै आउने गरेको उनले बताए । उनले भने ‘अहिले स्वास्थ्य संस्थामा आउने बिरामी मध्ये अधिकांशमा भाइरल ज्वरो देखिएको छ । गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपीनले पनि भाइरल ज्वरोको संक्रमण बढेको डा. जैसवालको भनाइ छ । ज्वरोका बिरामीहरुले नजिकै स्वास्थ्य संस्थामा चेकजाँच गर्नुपर्नेमा उनले जोड दिए । ज्वरोका बिरामीहरुमा अन्य संक्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने उनले बताए । 

पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, डेंगु लगायतका बिरामीहरु पनि फेला परीरहेका डा. जैसवालले बताए । 

ज्वरोका बिरामीहरुले स्वास्थ्य संस्थामा चेकजाँच गराएर मात्रै औषधि सेवन गर्नुपर्ने डा.जैसवालले बताए । ज्वरोका बिरामीहरुले मेडिकलहरुबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले समस्या बल्झिन सक्ने उनले बताए । जथाभावी औषधिको प्रयोगले मानवको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने भएकाले स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्ने उनले जोड दिए । 

भाइरल ज्वरो लगायतका प्रकोपकबाट बच्नका लागि शुद्धीकरण गरिएको पानी मात्रै प्रयोग गर्नुपर्ने शिखरपुर सामुदायिक स्वास्थ्य इकाइका अहेव कुँवरले सुझाव दिए । 
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update