Sagun Khabar
आज गणेश चतुर्थी पर्व, बैतडीको अनिरुद्र मन्दिरमा जात्रा 

बैतडी –बैतडीका प्रसिद्ध धार्मिक स्थल मध्येको अनिरुद्र मन्दिरमा आज जात्रा हुँदैछ ।  हरेक बर्ष भाद्र शुक्ल चतुर्थी अर्थात गणेश चतुर्थीका दिन अनिरुद्र मन्दिरमा जात्रा हुने गरेको हो । बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ मूलखटालीमा अनिरुद्र देवताको मूलथान रहेको भएपनि जिल्लाका अन्य स्थानमा पनि अनिरुद्र देवताको मन्दिर रहेका छन् । अनिरुद्र मन्दिरमा गणेश चौथीका दिन पूजाआजा सहित जात्रा हुने परम्परा रही आएको मन्दिरका पूजारी विनोदप्रसाद अवस्थीले बताए । 

देवीदेवताहरु मध्ये पहिलो पूजा गणेश भगवानको हुने र गणेश चौथीकै अवसर पारेर अनिरुद्र मन्दिरमा पनि पूजाआजा सहित जात्रा हुने गरेको उनले बताए । वेदबाट उत्पत्ति भएको विश्वासका आधारमा गणेश चौथीका दिन अनिरुद्र मन्दिरमा पूजाआजा हुने गरेको जानकारहरुले बताएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

बर्षमा पहिलो पटक गणेश चौथीमा जात्रा लाग्ने अनिरुद्र मन्दिरमा आश्विन शुक्ल पक्षको चतुर्थी तिथी र अष्टमी तिथीमा पनि जात्रा लाग्ने गरेको अनिरुद्र मन्दिरका अर्का पूजारी गणेशदत्त अवस्थीले बताए । 

यस्तै माघ शुक्ल चतुर्थी र चैत शुक्ल चतुर्थी तथा अष्टमीमा अनिरुद्र मन्दिरमा जात्रा लाग्ने गरेको अवस्थीले बताए । अनिरुद्र देवताको पूजाआजा गरेमा विद्या प्राप्त हुने जनविश्वास रही आएको उनले बताए । अनिरुद्र देवतालाई वेदका धनी देवताको रुपमा पूजाआजा गर्ने गरिएको छ । 

अवस्थीहरुको कुल देवताको रुपमा समेत अनिरुद्र देवताको पूजाआजा गर्ने गरिएको छ । बह्रमरुपी देवता भएकाले अनिरुद्र देवताको पूजाआजा गरेमा सुख,शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुने अनिरुद्र मन्दिरका पूजारी अवस्थीले बताए ।

बैतडीको सुर्नया ६ स्थित मूलखटालीमा अनिरुद्र देवताको मुख्य मन्दिर रहेको छ । सो मन्दिरमा हरेक बर्ष टाढाटाढाका दर्शनार्थीहरु पुग्ने गर्दछन् । यसका साथै पाटन नगरपालिका, सिगास गाउँपालिका, डडेल्धुरा, बझाङ लगायतका क्षेत्रमा पनि अनिरुद्र देवताको पूजाआजा हुने गरेको पूजारी अवस्थीले बताए । आयत्री गोत्र भएका अवस्थीहरुको बसोबास भएको ठाउँमा अनिरुद्र देवतालाई इष्टकुल देवताको रुपमा पूजाआजा गर्ने गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update