बैतडी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता एवं सांसद विराजभक्त श्रेष्ठले बैतडीको खोड्पे पुगेर समसामयिक बिषयमा छलफल गरेका छन् । स्थानीय तहका जनप्रतिनिधि, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता, रास्वपाप्रति आस्थावान व्यक्ति र स्थानीय नागरिकसंग उपनेता श्रेष्ठले बुधबार (आज) छलफल गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज तयार गर्नका लागि १९ नेतालाई १९ जिल्लाका गाउँ पठाउने कार्यक्रम अनुसार श्रेष्ठलाई बैतडी पठाइएको रास्वपाका प्रदेश महामन्त्री भोजराज जोशी (क्वालिटी)ले बताए ।
सांसद श्रेष्ठले खोड्पेमा पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, स्थानीय सरोकारवाला प्रतिनिधि र रास्वपाका कार्यकर्ताहरुसंग छलफल गरेको रास्वपाकी प्रदेश कोषाध्यक्ष जसु भट्टले बताइन् । छलफलका क्रममा यहाँको वस्तुस्थिती, समस्या, सम्भावना लगायतका बिषयमा चर्चा गरिएको थियो ।
छलफल कार्यक्रममा उपनेता श्रेष्ठसहित, केन्द्रीय सदस्य दिपक बोहरा, प्रदेश सभापति प्रकाश बिष्ट, प्रदेश प्रवक्ता सन्तोष जोशी, प्रदेश कोषाध्यक्ष जसु भट्ट लगायतको सहभागिता रहेको थियो ।




