बैतडी –बैतडी सदरमुकामस्थित गोठलापानी बजार जोड्ने सडकको अवस्था दयनीय बन्दै गएको छ । गोठलापानी बजारकै सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम समेत बढेको स्थानीयहरुले बताएका छन् ।
प्रमुख सरकारी अड्डा रहेको सदरमुकाम क्षेत्रकै सडकले विकासलाई गिज्याइरहेको छ । गोठलापानीमा दशरथचन्द राजमार्गमै खाल्डाखुल्डी भएपनि त्यसको मर्मतका लागि कसैको ध्यान जान नसकेको स्थानीय उद्धवसिंह मार्कण्डले बताए ।
जिल्लाको मुख्य बजार क्षेत्रको सडक सुधारमा नगरपालिका तथा अन्य सरोकारवाला निकायहरुले ध्यान नदिँदा समस्या भएको स्थानीयहरुको भनाइ रहेको छ ।
शाहीलेकदेखि गोठलापानीसम्मको सडकमा ठाउँठाउँमा खाल्डाखुल्डी भएपनि मर्मतमा कसैको ध्यान जान सकेको छैन् । सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको चालकहरुले बताएका छन् । सदरमुकामकै सडकको दुरावस्था हुनु लज्जाको बिषय भएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले बताए ।
साँघुरो सडकमा खाल्डाखुल्डी हुँदा सवारी साधन सञ्चालनमै समस्या भएको जिप चालक गौतम टेरले बताए । बर्षातको भेल सडकमै बग्ने गरेको र त्यसले गर्दा सडकमा खाल्डाखुल्डी हुने भएपनि व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन् ।
सदरमुकाम क्षेत्रकै सडकमा खाल्डाखुल्डी हुँदा समेत सम्बन्धित निकायहरु मौन रहेका छन् । सडक मर्मतमा दशरथचन्द नगरपालिका र सडक डिभिजन कार्यालयको ध्यान जान सकेको छैन् ।




