Sagun Khabar
सर्पको टोकाइबाट बैतडीमा एक महिला घाइते 

बैतडी–सर्पको टोकाइबाट बैतडीकी एक महिला घाइते भएकी छिन् । जिल्लाको सिगास गाउँपालिका २ की ३२ बर्षीया भागादेवी धामीलाई बुधबार साँझ ६ बजेतिर सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

घर नजिकैको बारीमा घाँस काटीरहेकी धामीलाई सर्पले टोकेको हो । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । धामीको दाहिने खुट्टाको पैतालामा सर्पले टोकेको बताइएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि भदौ २९ गते मेलौली नगरपालिका १ बगजेबलाका १७ बर्षीय सुजल दयाल पनि सर्पको टोकाइबाट घाइते भएका थिए । उनी पनि डडेल्धुरा अस्पतालमा उपचारपछि निको भएर घर फर्केका थिए । 

यो बर्षमात्रै बैतडीमा बिषालु सर्पको टोकाइबाट चार जनाको मृत्यु भइसकेको छ । पञ्चेश्वर गाउँपालिकाका तीनजना र सिगास गाउँपालिकाका एकजनाको सर्पको टोकाइबाट मृत्यु भएको हो । 

गएको भदौ १२ गते सर्पको टोकाइबाट पञ्चेश्वर गाउँपालिका १ सेरीकी ५५ बर्षीया पार्वती घटालको मृत्यु भएको थियो भने साउन अन्तिम साता पञ्चेश्वर–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको पनि सर्पको टोकाइबाटै मृत्यु भएको थियो । 

यस्तै वैशाख तेस्रो हप्ता पञ्चेश्वर गाउँपालिका २ डाँगाटोलकी २५ वर्षीया निर्मला लुहारको सर्पको टोकाइबाट मृत्यु भएको थियो भने सिगास गाउँपालिका ७ पिपलचौताराका ५५ बर्षीय करी दमाईको गएको जेठ १३ गते सर्पको टोकाइबाट मृत्यु भएको थियो । 

यो बर्षदेखि जिल्ला अस्पताल बैतडीमा पनि सर्पदंशको उपचार सेवा शुरु भएको छ । जिल्ला अस्पतालमै सर्पदंश उपचार केन्द्र रहेकाले सर्पले टोकीहालेमा जतिसक्दो अस्पताल आउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 

बैतडीका ग्रामीण क्षेत्रमा सर्पले टोकीहालेमा वैद्यकहाँ झारफुक गर्ने चलन रहेको छ । वैद्यको भरपर्दा सर्पदंशका बिरामीहरुले अकालमा ज्यान गुमाउने गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update