Sagun Khabar
सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुग्यो

 बैतडी–बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगेको छ । गाउँपालिकाको लामो प्रयास पछि गाउँपालिकाको केन्द्रमा सडक पुगेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । सिगास गाउँपालिकाको ढुंगाड हुँदै गाउँपालिकाको केन्द्र सम्म सडक पुगेको उनले बताए ।

गाउँपालिकामा सडक पुगेपछि अध्यक्ष धामीले डोजर चालकलाई अबिर र मालाले सम्मान समेत गरे । गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि अब सजिलो हुने सिगासबासीले बताएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

गाउँपालिकाको केन्द्र सम्म सडक नपुग्दा धेरै समस्या हुने गरेकोमा अब सजिलो भएको स्थानीय पदम साउँदले जानकारी दिए । उनले भने ‘गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि अब हामीहरुलाई सजिलो भएको छ । सडक पहुँच नहुँदा धेरै अप्ठ्यारो परेको थियो । अब आवतजावत समेत सजिलो हुनेछ ।’

गाउँपालिकाको केन्द्र सम्म सडक पुगेपछि अब अन्य पूर्वाधारका काम समेत सहज हुने गाउँपालिकाका प्रवक्ता रामबहादुर धामीले बताए । सिगासको केन्द्र गर्जेमा सडक पुगेसंगै जिल्लाका १० ओटै स्थानीय तहका केन्द्रमा सडकको पहुँच पुगेको छ । यद्यपि धेरै ठाउँमा अझै पनि कच्ची सडक रहेकाले बर्षातको समयमा भने सवारी साधन सञ्चालनमा कठीनाई हुँदै आएको छ । 

सिगास गाउँपालिकाको केन्द्र गर्जेमा आफ्नो कार्यकालमा नयाँ भवन बनेको, खानेपानी पुगेको र सडक पुगेको कुरा मुख्य उपलब्धि भएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने ‘नागरिकको चाहना अनुसार हामीले काम गरिरहेका छौं । प्रत्येक वडाका भवन बनाएका छौं । गाउँपालिकाको आफ्नै भवन बनाएका छौं । अहिले गाउँपालिकाको केन्द्रमा पनि सडक पुगेको छ । यो नै हाम्रो उपलब्धि हो ।’

गाउँपालिकाको करीब अढाई करोडको लागतमा २३ किलोमिटर सडक खनिएपछि गर्जेमा सडक पुगेको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाले बताए ।   

 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update