Sagun Khabar
बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका हवलदारको मृत्यु 

बैतडी–बैतडीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० बर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट गएराति मृत्यु भएको हो । 

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बाजुराबाट घर आएका महरा खोड्पेमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बुझिएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन् । 

महराको शव बीच सडकमै रहेको स्थानीय प्रेमसिंह भाटले जानकारी दिए । गाडीको ठक्करबाट महराको मृत्यु भएपछि अहिले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । मृतकका आफन्तहरुले दोषीको पहिचान नहुँदा सम्म गाडी चल्न नदिने चेतावनी दिएका भाटले बताए । 

अहिले तराइबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update