Sagun Khabar
बैतडीमा सिगास बहुमुखी क्याम्पस स्थापनाको पहल तीव्र, ४१ लाख चन्दा संकलन 

बैतडी –बैतडीको पाटन नगरपालिका–३ स्थित सिगास मावि गौरीशंकर पोखरीमा क्याम्पस स्थापनाको पहल तीव्र पारिएकोे छ । सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसको रुपमा सिगास बहुमुखी क्याम्पस स्थापनाको पहल भइरहेको हो । 

सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्तिका लागि निवेदन दिइसकेको र अन्य तयारीहरु भइरहेको क्याम्पस सञ्चालन तदर्थ समितिका संयोजक प्रेमसिंह भाटले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

विश्व विद्यालयले आह्वान गरेको सूचनाको आधारमा निवेदन पेश गरिसकेको र क्याम्पस स्थापनाका लागि धरौटी, फर्निचर लगायत आवश्यक पुर्वाधार निर्माणका लागि आर्थिक संकलन अभियान थालनी गरिएको विद्यालयले जनाएको छ । 

विद्यालय सेवा क्षेत्रभित्रका आठवटा स्थानहरुमा सरोकारवाला व्यक्तिहरुको भेला बोलाई क्याम्पस संचालनका आर्थिक सहयोग संकलन गर्ने कार्य भइरहेको संयोजक भाटले बताए । अहिले सम्म ४१ लाख दश हजार पच्चीस रुपैंया संकलन भएको संयोजक भाटले बताए । 

सिगास बहुमुखी क्याम्पसमा स्नातक तहमा शिक्षा र वाणिज्य संकायमा पठनपाठन गर्ने तयारी भइरहेको उनले बताए । घर नजिकैको विद्यालयबाटै उच्च शिक्षा हासिल गर्न सहज होस भनेर क्याम्पस स्थापनाको पहल भइरहेको बताइएको छ । 

जिल्लाको केदारनागार्जुन मावि बगलेखान, केदारेश्वर मावि दुर्गास्थान र शिक्षा केन्द्र अमर मावि डिलाशैनीमा पनि क्याम्पस स्थापनाका लागि पहल भइरहेको छ । समुदायस्तरबाट सञ्चालनमा रहेका कतिपय क्याम्पस विद्यार्थीको अभाव र अन्य कारणले बन्द भइरहेकाले बेला नयाँ क्याम्पस स्थापनका लागि पहल भइरहेको हो । 

नयाँ सञ्चालन हुने क्याम्पसहरुलाई दिगो रुपमा सञ्चालन गर्ने रणनीतिसहित स्थापना गर्नुपर्ने शिक्षा क्षेत्रका जानकारहरुले बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update