Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशी मेला शुरु 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा शुरु भएको छ । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला भाद्र शुक्ल द्वादशीबाट शुरु भएको निङ्गलाशैनी भगवती मन्दिरका मूलपूजारी देवदत्त भट्टले जानकारी दिए । भाद्र शुक्ल द्वादशीका दिन निङ्गलाशैनी भगवती मन्दिरको भण्डार घरबाट मन्दिरमा भण्डार ल्याउने प्रचलन रहेको उनले बताए । 

भाद्र शुक्ल द्वादशीबाट जात्रा शुरु हुने र तीनरात जाग्राम बस्ने भक्तजनहरुले आजैदेखि मन्दिरमा बस्न शुरु गरेको पूजारी भट्टले बताए । चतुर्दशीको अवसरमा लाग्ने मेलामा बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरीहरुले जात्रा ल्याउने प्रचलन रही आएको छ । परापूर्वकालमा निङ्गलाशैनी भगवतीले न्याय दिएको हुनाले दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन रही आएको हो । उनले भने ‘यो जात्राको मुख्य आकर्षण स्वराड सदरमुकाम क्षेत्रबाट आउने जात्रा हो । दुवै क्षेत्रको जात्रा मन्दिरमा पुग्ने बेला कुहिरो लाग्ने गर्दछ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष चार पटक जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत दर्शनका लागि पुग्ने गर्दछन् । महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भएपनि अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिने चलन नरहेको पूजारी भट्टले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलालाई भव्य रुपमा सम्पन्न गर्न देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेलास्थल र आसपासका क्षेत्रमा मदिरा सेवन र कारोबार गर्न निषेध गरिएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । 

मदिरा सेवन र बेचबिखनले जात्रास्थलमा विभिन्न खालका विकृति ल्याउने भएकाले मेला अवधिभर देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष बोहराले बताए ।
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update