बैतडी –बैतडीमा कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको खोप लगाउने कार्य भइरहेको छ । विश्व रेबिज सप्ताहको अवसरमा जिल्लाका विभिन्न स्थानमा कुकुर तथा बिरालोहरुलाई रेबिजविरुद्धको खोप लगाउने कार्य भइरहेको भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीमा कार्यरत डा. विशाल पाठकले जानकारी दिए ।
रेबिज प्राण घातक रोग भएकाले यसबाट बच्नका लागि कुकुर तथा बिरालोहरुलाई खोप लगाउने गरेको उनले बताए । कुकुर, बिरालो लगायतका जनावरहरुको टोकाइबाट मानिसमा रेबिज सर्ने भएकाले जनावरहरुलाई रेबिज विरुद्धको खोप दिने गरिएको उनले बताए । तीन महिनाभन्दा माथिक कुकुर, बिरालोहरुलाई रेबिजविरुद्धको खोप लगाउने गरिएको डा. पाठकले बताए ।
बैतडीको पाटन, सतबाँझ, मुस्याचोर, सदरमुकाम र मेलौली क्षेत्रमा रेबिज सप्ताहको अवसरमा रेबिज विरुद्धको खोप लगाउने कार्य भइरहेको डा. पाठकले बताए । घरपालुवा तथा छाडा कुकुर बिरालोहरुलाई खोप लगाउने कार्य भइरहेको उनले बताए ।
रेबिज लागेको कुकुर, बिरालो लगायतका जनावरहरुले मानिसलाई टोकेमा रेबिज सर्ने गर्दछ । रेबिज रोगको औषधि नभएकाले यसबाट बच्नका लागि कुकुर, बिरालो लगायतका जनावरहरुलाई खोप लगाउनुपर्ने उनले बताए ।
सप्ताहको अवसरमा अहिले एक सय बढी कुकुर बिरालोहरुलाई खोप लगाइएको र खोप लगाउने कार्य जारी रहेको उनले बताए । यस्तै सप्ताहका अवसरमा विद्यालय शिक्षा कार्यक्रम समेत सञ्चालन गरिएको जनाइएको छ ।




