Sagun Khabar
बैतडीका बेपत्ता शिक्षक जयबहादुरको अवस्था अझै अज्ञात, परिवार चिन्तामा

बैतडी –बैतडीका शिक्षक जयबहादुर बोहरा हराएको ३५ दिन बढी भइसक्दा समेत अवस्था अज्ञात रहेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ बर्षीय शिक्षक बोहरा गएको भदौ ५ गतेदेखि बेपत्ता रहेका छन् ।

लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते विद्यालयबाटै बेपत्ता भएका थिए । बेपत्ता शिक्षकको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

Atrya hospital

बेपत्ता भएकै भोलिपल्टबाट प्रहरीले उनको खोजी गरिरहेको भएपनि अहिले सम्म फेला पार्न सकेको छैन् । शिक्षक बोहरा हराएको महिना दिनभन्दा बढी भइसक्दा समेत केही पत्ता नलागेपछि परिवारजन चिन्तामा परेका छन् । 

दिनभरी विद्यालयमा पढाएर साँझदेखि बेपत्ता भएका शिक्षकको अहिले सम्म अवस्था अज्ञात हुँदा आफूहरु निकै चिन्तामा परेको उनका आफन्त कर्ण धामीले बताए । आफ्नो आफन्त हराएको महिनादिन बढी भइसक्दा समेत स्थानीयदेखि केन्द्रीय सरकार मुकदर्शक बनेको धामीले आरोप लगाए । उनले भने ‘ठूलाबडाको कोही मानिस हराएको भए खोजी भइहाल्थ्यो । समान्य नागरिक हराउँदा कसैले चासो दिएका छैनन् ।’

बेपत्ता शिक्षक बोहरा हराएको भोलिपल्ट गन्नीगाड नदीको किनारमा उनले लगाएको चप्पल,टोपी, छाता फेला परेको थियो । उनका आफन्तले बोहराले प्रयोग गर्ने मोबाइल समेत नदी किनारमै फेला पारेका थिए । 

तर शिक्षक बोहराको अवस्था अज्ञात हुँदा आफूहरु निकै चिन्तित भएको उनले बताए । उनले भने ‘हाम्रो मान्छे जिउँदो छन् अथवा कस्तो अवस्थामा छन् । हामीले थाहा पाउन सकेका छैनौं। हामीलाई निरन्तर चिन्ताले पिरोलेको छ ।’

यता प्रहरीले भने बेपत्ता शिक्षक बोहराको खोजी कार्य भइरहेको दाबी गरेको छ । नदी किनार छेउछाउका साथै मातहतका निकायमा समेत बेपत्ता शिक्षकको हुलिया दिएर खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

अन्य जिल्लाहरुमा समेत बेपत्ता शिक्षक बोहराको हुलिया पठाइएको उनले बताए ।
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update