
बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले नयाँ इन्जिनियर भर्ना प्रक्रिया अघि बढाएकोमा नेपाल निजामति कर्मचारी युनियन बैतडीले आपत्ती जनाएको छ । नगरपालिकामा कार्यरत इन्जिनियर जयसिंह बोहरालाई पूर्वाग्रही ढंगबाट हटाइ नयाँ इन्जिनियर भर्ना प्रक्रिया शुरु गरेको भन्दै युनियनले आपत्ती जनाएको हो ।
नेपाल निजामति कर्मचारी युनियन बैतडीले एक विज्ञप्ती जारी गर्दै एक दशकदेखि नगरपालिकामा कार्यरत इन्जिनियर बोहरालाई बिना कसुर, कानुन विपरीत नगरपालिकाले हटाएको उल्लेख गरेको छ ।
नगरपालिकाले बहुमतका आधारमा निर्णय गर्दै बोहरालाई हटाएको युनियनले दाबी गरेको छ । नगरपालिकाभित्रका कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृत मातहत रहने प्रावधानलाई समेत बेवास्ता गर्दै इन्जिनियर बोहराको हाजिर केरमेट गरेको गरेको समेत उल्लेख गरिएको छ ।
प्रचलित कानुन विपरीत नगरपालिकामा कार्यरत इन्जिनियर बोहरालाई पूर्वाग्रही ढंगबाट हटाएको भन्दै युनियनले गम्भीर ध्यानाकर्षण समेत भएको जनाएको छ । राष्ट्र सेवक कर्मचारीहरुमाथि पूर्वाग्रही व्यवहारले पर्न जाने असरका बिषयमा ध्यान दिन समेत नगरकार्यपालिकालाई आग्रह गरिएको छ ।
यस्तै इन्जिनियर बोहरालाई नगरपालिकाले कामबाट हटाउन गरेको निर्णयप्रति सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इन्जिनियर बोहरालाई पूर्वाग्रही ढंगले हटाएको आफ्नो निर्णयमा पुनर्विचार गर्न नगरपालिकालाइ आग्रह गरेको छ ।