Sagun Khabar
बैतडीको देहीमाण्डौंमा ‘ठूली जात’को रौनक 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लागेको जात्रा जारी रहेको छ । देहीमाण्डौं क्षेत्रमा ठूली जातको रौनक रहेको स्थानीय बासिन्दाहरुले बताएका छन् । 

निङ्गलाशैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशीको मेला लाग्ने गर्दछ । अनन्त चतुर्दशीको अवसरमा आज स्वराड क्षेत्र र बैतडी सदरमुकाम क्षेत्रबाट जात्रा आइसकेको निङ्गलाशैनी भगवती मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए । यो जात्रामा स्वराडी र सदरमुकाम क्षेत्रबाट आउने जात्रा नै मुख्य आकर्षण रहेको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । अनन्त चतुर्दशीको अवसरमा लागेको भाद्र शुक्ल पूर्णिमाको बिहान समापन हुने मन्दिरका पूजारी भट्टले बताए । 

जात्राको अवसरमा देउडा समेत हुने गरेको छ । स्थानीयहरुले जात्रामा देउडा खेल्ने गरेका छन् । यस्तै गत बर्ष मन्दिरमा नयाँ हिङलो चढाएपछि पिङ खेल्नेहरु पनि खुसी भएका छन् । 

निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष चार पटक जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत दर्शनका लागि पुग्ने गर्दछन् । महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भएपनि अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिने चलन नरहेको पूजारी भट्टले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update