Sagun Khabar
बैतडीका २१ हजार तीन सय घरधुरीमा बिजुली,दसैँतिहारसम्म थप एक हजार घरधुरीमा बत्ती बाल्ने लक्ष्य

बैतडी-बैतडी जिल्लाका २१ हजार तीन सय घरधुरीमा बिजुली पुगेको छ। विद्युत् वितरण केन्द्रले चार हजार नयाँ घरधुरीमा बिजुली जडान गरेपछि बत्ती बाल्ने घरधुरीको सङ्ख्या २१ हजार तीन सय पुगेको हो। 

जिल्लाका सुर्नया, डिलासैनी, मेलौली, पञ्चेश्वर, दोगडाकेदारको रिम, पाटन नगरपालिका–८, कुक्कु र सिगासका केही गाउँमा गरी चार हजार नयाँ घरधुरीमा बिजुली जडान गरिएको छ । दसैँतिहारसम्म थप एक हजार घरधुरीमा बत्ती बाल्ने लक्ष्य राखिएको विद्युत् वितरण केन्द्रका प्रमुख पवनकुमार भट्टले बताए।  

बैतडीमा अझै २३ हजार ८९१ घरधुरीमा बिजुली पुग्न सकेको छैन । बिजुली नपुगेका पञ्चेश्वर, शिवनाथ, सिगास, पुर्चौडी र मेलौलीमा विद्युत् विस्तारको काम निरन्तर चलिरहेको भट्टले बताए।    तल्लोस्वराड, च्वाँगढको सिगास र पुर्चौडी नगरपालिकाका अधिकांश गाउँ बत्तीको पहुँचभन्दा बाहिर रहेकाले स्थानीय तहसँग समन्वय गरेर विद्युत् विस्तारको काम अघि बढेको बैतडी वितरण केन्द्रले जनाएको छ।

स्थानीय तहले बितेका पाँच वर्षमा उपभोक्ता समितिमार्फत बिजुली बाल्ने प्रयास गरे पनि गुणस्तरहीन काम गर्दा बत्ती बल्न नसकेपछि अहिले विद्युत् वितरण केन्द्रलाई गुहार मागिरहेका छन्। पञ्चेश्वर गाउँपालिकाले ठेक्कामार्फत बिजुली विस्तार गर्न खोज्दा ठेकेदार भागेका छन् भने सिगास गाउँपालिकाका अधिकांश विद्युत् उपभोक्ता समिति अख्तियारको छानबिनमा परेका छन्।  

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update